२०८१ मंसिर १२, बुधबार
आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानका विभिन्न आठ उद्देश्य रहेको पार्टी कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अभियानअन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य रहेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य रहेको छ ।
यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उहाँले बताउनुभयो ।
कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावनाविपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापकरूपमा राख्ने कांग्रेसको अभियान छ ।
प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मकरूपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने, कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका लागि अपिल गरिने प्रवक्ता डा महतले जानकारी दिनुभयो ।
राष्ट्रिय सहमति निर्माण गरी हालसम्मको सबैभन्दा ठूलो अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसद्बाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाई बुँदागतरूपमा चिर्दै वास्तविकरूपमा राख्ने अभियानको उद्देश्य छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे