२०८२ बैशाख ७, आईतबार
मन्त्री बडूले यस पटकको अनुगमन औपचरिकतामा सीमित नहुने भन्दै थपे, “पटकपटक धेरै मन्त्रीले अनुगमन गर्नुभयो अब हामी रिजल्ट दिने गरी आएका छौँ, चाँडै नै फलाम खानीमा उत्खनन र प्रशोधनको कामले गति लिन्छ ।” धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकबहादुर चन्दसहित मन्त्री बडू फलाम खानी स्थल पुगेका हुन् ।
मन्त्री बडूले उत्खनन र प्रशोधनको काममा निजी क्षेत्रको सहकार्य गर्ने गरी छलफल चले पनि निष्कर्षमा पुग्न बाँकी रहेको बताए । उनले प्रशोधन उद्योग खोल्नका लागि उपयुक्त भनिएको पूर्वी नवलपरासीको लोकाहामा रहेको प्रस्तावित औद्योगिक क्षेत्रको निरीक्षण गरे । लोकाहामा गण्डकी प्रदेश सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागी बजेट छुट्टयाएर काम सुरु गरेको छ ।
यसअघि धौवादी फलाम कम्पनी लिमिटेडले आफू मातहतका वरिष्ठ भूगर्भविद्को संलग्नतामा सो क्षेत्रमा गरेको अध्ययनमा कच्चा फलामको भण्डार रहेको देखाएको थियो । खानी तथा भूगर्भ विभागले यसअघि गरेको अध्ययनबाट त्यस फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलामको भण्डार रहेको अनुमान गरेको थियो । सरकारी स्वामित्वमा स्थापित कम्पनीले खानीको भण्डार परिमाणबारे गरेको पछिल्लो अध्ययनले थप पाँच करोड मेट्रिक टन फलाम रहेको अनुमान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिए ।
“आर्थिक वर्ष २०६७/६८ देखि उक्त स्थानमा रहेको खानीको अन्वेषण सुरू गरिएको थियो, अन्वेषणका क्रममा फलामको भण्डारण १० करोड मेट्रिकटन रहेको अनुमान गरेको कम्पनीले अहिले गरेको अन्वेषणले त्यसको परिमाण बढी भएको देखाएको छ । ” देशको सबैभन्दा ठूलो फलाम खानीका रूपमा हेरिएको उक्त फलाम खानी १० किलोमिटर लम्बाइ, १५ देखि ३० मिटर चौडाइ र १०० मिटर गहिराइमा अवस्थित छ । खानीमा छड बनाउन सकिने गुणस्तरको फलाम देखिएकाले त्यसको आधिकारिक पुष्टि गर्न विभागले पाँच टन फलाम गतवर्ष चीन पठाएको थियो । चीनबाट प्राप्त प्रतिवेदनले व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने पुष्टि गरेको थियो । पूर्वी नवलपरासीको कावासोतीबाट उत्तरतर्फ हुप्सकोट गाउँपालिका–५ मा पर्ने धौवादीमा १० किलोमिटर लामो फलाम खानी (फलामको मात्रा धेरै रहेको पहाड) रहेको छ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे