२०८१ मंसिर ६, बिहिबार
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डले प्रधानमन्त्रीका रूपमा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । हाल कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन भत्किएपछि एमाले, माओवादीलगायतको नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् । एमाले र माओवादी केन्द्रबीच आधाआधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको छ । जसअनुसार पहिलो साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् भने साढे दुई वर्षपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति भएको छ ।
माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका प्रचण्डले माओवादी केन्द्रसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
यसैगरी, स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि प्रचण्डलाई समर्थन गरेका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १ सय ३८ सांसद आवश्यक हुन्छ । तर, प्रचण्डलाई १ सय ६९ सांसदको समर्थन रहेको छ ।
एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र स्वतन्त्र सांसद ३ गरी प्रचण्डलाई १ सय ६९ सांसदको समर्थन रहेको हो ।
प्रतिनिधिसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलीजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १ सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । राजधानीडेलीबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे