२०८१ मंसिर ६, बिहिबार
करिडोरको एक सय ३२ किलोमिटर सडकको निर्माण सुरु भएको ६ वर्षमा सम्पन्न हुन लागेसँगै स्थानीयवासीमा खुसी छाएको बुलिङटारका स्थानीय बताउँछन् ।
नवलपुरको गैँडाकोटबाट पाल्पाको राम्दी सम्मको एक सय ३२ किलोमिटर निर्माणको ठेक्का पाएको भारतीय कम्पनी इकेके कन्स्ट्रक्सन प्रालिले ८० प्रतिशत काम सकेको र अब २० प्रतिशत काम आगामी वैशाखसम्म सक्ने गरी द्रुत गतिमा काम भइरहेको आयोजनाका इन्जिनियर हेमराज ओलीले बताए ।
चार वर्षमा सम्पन्न हुुने लक्ष्य लिइएको सो सडक आयोजना करिब पाँच अर्ब ४७ करोडमा ठेक्कामा गएको थियो । ठेक्का पाएको भारतीय कम्पनी इकेके कन्स्ट्रक्सन स्थानीय निर्माण व्यवसायीको प्रयोग गरी सो सडक निर्माण सुरु गरेको आयोजनाका ठेकेदार पक्षका साइड इन्चार्ज कपिल गौलीले बताए ।
कोरोनाको उच्च जोखिमका कारण करिब एक वर्ष ढिला भएको सो सडक अहिले भने निर्माणले गति लिन थालेको छ । पाँच अर्ब ४७ करोडको लागतमा निर्माण सुरु भएको कालीगण्डकी करिडोरको अहिले गैँडाकोटदेखि पाल्पाको राम्दीसम्म एक सय ३२ किलोमिटरको काम भएको र यसको ठेक्का पाएको भारतीय कम्पनी इकेके कन्स्ट्रक्सनले स्थानीय नेपाली ठेकेदार गौली ग्रुपलाई ठेक्का दिएको हो ।
आयोजनाको सडक ११ मिटरको चौडाइमध्ये सात मिटरमा कालोपत्र, एक–एक मिटरको किनारा र एक–एक मिटरको नाला हुुने गरी कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ करिडोरको चार खण्डमध्ये गैँडाकोटको कालीगण्डकी चोकदेखि बुलिङटारको थामबेँसीसम्म, थामबेँसीदेखि भारतीपुर, भारतीपुरबाट भलायटार र भलायटारदेखि पाल्पा रामपुरको पीपलडाँडासम्म रहेको छ । २०७५ साल मङ्सिर १७ गतेदेखि सुरु गरिएको कालीगण्डकी करिडोरको निर्माण कार्य २०७८ मङ्सिर १६ भित्र सक्नुपर्ने ठेक्का सम्झौता भए पनि कोरोनाले एक वर्ष धकेलिएको आयोजनाले जनाएको छ ।
करिडोरको एक सय ३२ किलोमिटरमध्ये अहिले ३९ पुल निर्माण कार्य सम्पन्न भएको छ भने हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको सरकारका तर्फबाट सडक हेर्ने सव इन्जिनियर पदम अधिकारीले बताए । रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे