२०८१ बैशाख ८, शनिबार
बागलुङ नगरपालिका–१, रामरेखा निवासी सीताकुमारी खड्काले शनिबार राति अष्ट्रेलिया हिँडेका छोराबुहारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभयात्राको आशीर्वादसहित बिदाइ गर्नुभयो।
खुसीका साथ कान्छा छोराबुहारीलाई बिदाइ गरी आइतबार घर फर्किनुभएकी खड्का गन्तव्यमा पुग्न पाउनु भएन। यती एयरलाइन्सको विमानबाट घर फर्किंदै गर्दा पोखरामा भएको दुर्घटनामा परी उहाँ सधैँका लागि बिदा हुनुभयो।
छोराबुहारीलाई कर्मथलोका लागि बिदाइ गर्न आएकी आमा घर नपुग्दै बीचमै अस्ताएपछि घरपरिवार शोकमा ढुबेको छ। छोराबुहारी अस्ट्रेलिया नपुग्दै यता आमाको हवाई दुर्घटनामा मृत्यु भएको खबरले परिवार स्तब्ध भएको मृतकका भान्जा सूर्य लामिछानेले बताउनुभयो।
विवाहका लागि डेढ महिनाको बिदा लिएर नेपाल आएका खड्काका कान्छा छोरा आशिष खड्का र अन्सु खड्काबीच मङ्सिर २२ गते विवाह भएको थियो। छोरा र बुहारीलाई शनिबार राति ११ बजे कर्मथलो अस्ट्रेलियाका लागि बिदाइ गरेकी खड्का पोखरामा रहेकी छोरी अनिता खड्काले अनलाइन टिकट लिएपछि सोही विमानबाट पोखरा फर्किंदै हुनुहुन्थ्यो।
“माइजू, भाइ र बुहारीलाई अस्ट्रेलियाका लागि बिदाइ गरेर आइतबार बिहान विमानबाट घर फर्कंदै हुनुहुन्थ्यो,” लामिछानेले भन्नुभयो, “हर्षका आँसु ओभानो नहुँदै पीडाका आँसु पुछ्नु परेको छ।”
कर्मथलोमा छोराबुहारी पठाएर घर फर्किंदै गरेका बागलुङका दुई आमा बाउले विमान दुर्घटनामा ज्यान गुमाए। बागलुङ नगरपालिका–४ घर भएका शालिकराम आचार्य पोखरा बसेर व्यवसाय गर्न थालेको केही वर्ष भयो। छोराबुहारी जापानमा रहेकाले घर आउँदा जाँदा आचार्यले विमानस्थलसम्म लिन र छोड्न जाने गर्नु हुन्थ्यो।
केही महिनाअघि जापानबाट घर आएकी बुहारी लक्ष्मी आचार्य जापान फर्किन थालेपछि आचार्यले बुहारीलाई पु-याउन जहाज चढेरै काठमाडौँ पुग्नुभयो। बुहारी लक्ष्मीसहित सुरक्षित काठमाडौँ पुगेका आचार्यले गत शनिबार बुहारीलाई जापानमा पठाएर आइतबार पोखरा फर्किंदै गर्दा यती एयरलाइन्सको एटीआर ७२ नम्बरको विमान दुर्घटनासँगै अस्ताउनुभयो।
पोखरामा रहेका कान्छा छोरा लोकनाथलाई फर्किने टिकटको बन्दोबस्त गर्न लगाउनुभएको थियो। “कान्छो छोरा लोकनाथले शनिबार नै पोखरा आउनुस्, अनलाइन टिकट काटिदिन्छु भनेको रहेछ, भाइले भोलि बिहानै आउँछु भनेछ।” मृतकका दाजु डिल्लीप्रसाद आचार्यले भन्नुभयो। दिवङ्गत आचार्यका माइला छोरा घनश्याम, कान्छा छोरा लोकनाथ र श्रीमती पोखराको नागढुङ्गामा बस्दै आउनुभएको छ।
उहाँहरूसँगै बागलुङको बडिगाड गाउँपालिका स्थायी घरभएकी कलाकार नीरा छन्त्याल र गलकोट नगरपालिका–२, नरेठाँटी घरभएकी वन्दना सुनारको पनि सोही दुर्घटनामा निधन भएको छ। छन्त्याल पोखरामा सञ्चालित एक कार्यक्रममा प्रस्तुतिका लागि आउँदै हुनुहुन्थ्यो। गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे