२०८१ कार्तिक १७, शनिबार
विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव । प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्यभागमा कोन्ज्योसोम गाउँपालिका दक्षिणपूर्वी भेगमा महाङ्काल र दक्षिण–पश्चिम भेगमा वाग्मती गाउँपालिका पर्दछ । महाङ्काल गाउँपालिका–२ गोटीखेलको अग्लो पहाडको टुप्पोमा अवस्थित छ कालेश्वर महादेव । कालेश्वर महादेव ललितपुर जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य हो, एक महत्त्वपूर्ण तीर्थस्थल हो, जहाँ कालले पनि तपस्या गरेको थियो भन्ने किम्बदन्ती छ ।
स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार सतिदेवीको मृत्युपछि महादेवले उनको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा हालको कालेश्वरमा आई कण्ठ पतन भएको थियो । प्राचीनकालमा त्यस ठाउँमा काल पुरूषले महादेवको दर्शनका लागि शिला स्थापना गरेर कठोर तपस्या गर्दा गोटीखेलको घडघडा नदी र मसानखोलाको सङ्गमस्थलमा रहेको वैतरणी नदीको जल र सिसवनमा रहेको अलौकिक चुनढुङ्गाको चन्दन घोटी लगेर यस पहाडको टुप्पोमा चढाउने गर्दथ्यो ।
तपस्या थालेको धेरै वर्षपछि पौष शुक्ल नवमीको मध्यरातमा महादेव प्रकट भई कालपुरुषको तपस्याबाट प्रभावित भएर तिमीले स्थापना गरेको शिवलिङ्ग तिम्रै नाममा प्रख्यात हुनेछ भनी वरदान दिएको र उसैको नामबाट स्थापित भएकोले कालेश्वर महादेव भनिएको भन्ने भनाइ छ ।
कालेश्वर महादेवलाई ललितपुरको प्याङ्गाउँवासी आफ्ना आराध्यदेवका रूपमा लिएर कुलदेवताका रूपमा पुज्ने गर्दछन् । समुद्र सतहबाट करिब दुई हजार नौ सय मिटरको उचाइमा रहेको यस मन्दिरमा हरेक चैत पूर्णिमाका दिन मेला लाग्ने गर्दछ । यस दिन प्याङगाउँलगायत ललितपुर, काभ्रे तथा मकवानपुर जिल्लाका हजारौँ भक्तजन दर्शनका लागि उपस्थित हुने गर्दछन् ।
प्याङगाउँमा रहेको आंगःछे (देवस्थल) मा हरेक महिनाको औँसी र चतुर्थीको दिनको दुई पटक पूजा हुन्छ, जुन कालेश्वर महादेवकै आंगःछे हो । यसलाई कालेश्वर महादेवकै प्रतिमूर्तिको रूपमा ल्याएर प्रतिस्थापन गरिएको हो । तर यहाँभित्र जोसुकै जान मिल्दैन, यसका निश्चित नीतिनियम छन् । आंगःछे भित्र मूल पूजारी, गुठियार तथा नाइकेहरू मात्र जान पाउँछन् । गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे