२०८१ कार्तिक २०, मंगलबार
पश्चिमा मुलुकबाट सुरु भएको भ्यालेन्टाइन डे नेपाली समाजले पनि सहज रूपमा लिइसकेको छ । पछिल्ला केही वर्ष यता नेपालमा युवा पुस्ताहरूले भ्यालेन्टाइन डे पनि चाडपर्व झैँ मनाउन गरेका छन् । भ्यालेन्टाइन डेको दिन गुलाफ, कार्ड लगायत उपहारहरू आदानप्रदान गरी मनाउने चलन छ ।
यो दिन प्रेमको प्रतीकको रूपमा रातो गुलाफको आदानप्रदान गरी प्रेम दर्साउने गरिन्छ । त्यसैले भ्यालेन्टाइन डेमा सबैभन्दा बढी गुलाबको फुल बिक्री हुन्छ । जसले गर्दा नेपाली बजारमा पनि त्यस बेला गुलाबको फुलको बिक्री धेरै हुने गर्छ ।
यस वर्षको प्रेम दिवस पनि भारतबाट आयात भएको गुलाबको फूलले मनाउनु पर्ने बाध्यता रहेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष मीन बहादुर तामाङ बताउँछन् ।
गुलाबको नेपाली उत्पादन घट्दो छ तर, बजारमा गुलाबको माग बढ्दो रहेको छ । यस वर्ष माग भएको गुलाबमा नेपाली उत्पादन ७ प्रतिशत मात्रै रहेको छ भने बाँकी ९३ प्रतिशत भारतबाट आयात गर्नु पर्ने भएको छ । जबकि गत वर्ष मागको १० प्रतिशत आन्तरिक उत्पादनले धानेको थियो ।
‘प्रेम दिवसका लागि दुई लाख ६० हजार स्टिम गुलाबको फूल भारतबाट आयात गरिने भएको छ । जसको मूल्य करिब एक करोड ६० लाख बराबरको हुने देखिन्छ’, अध्यक्ष तामाङले भने ।
त्यस्तै, उनले फूलको बजार मागको ६० प्रतिशत काठमाडौं उपत्यकाभित्र र बाँकी ४० प्रतिशत बाहिरी मुख्य सहरहरूमा खपत भएको जानकारी दिए । साथै उनले गुलाबको फूलको गुणस्तर अनुसार प्रति स्टिम ८० रुपैयाँदेखि एक सय २० रुपैयाँको हाराहारीमा बिक्री वितरण हुने समेत बताए । गत वर्ष प्रति स्टिम ८० रुपैयाँदेखि एक सय रुपैयाँसम्ममा बिक्री वितरण भएको थियो ।
उनका अनुसार फ्लोरिकल्चरको क्षेत्रमा लगानीमैत्री नीति नै छैन । प्रविधिमा लगानी गरेर उत्पादन गर्ने हो भने पनि भारतबाट आयात भएका फूलसँग प्रतिस्पर्धा गर्न समस्या हुन्छ । भारतको उत्पादनले नेपालमा सहजै बजार पाउँछ । त्यसमा पनि सस्तोमा बिक्री हुने गर्छ । यहाँ प्रविधिमा लगानी गर्यो भने मूल्यमा केही वृद्धि हुन जान्छ । जसले गर्दा नेपाली उत्पादनले बजार पाउन सक्दैन ।
बजार नपाउने भएपछि उत्पादन गरेर जोखिम मात्रै बढ्ने भएकाले व्यवसायीहरूले फूल उत्पादनमा लगानी गर्न डराउने गरेको उनको भनाई छ । भारतीय फूल आयातमा कडाइ गर्नका लागि नेपाली व्यवसायीहरूले विभिन्न मन्त्रालय धाउँदा समेत सुनुवाइ हुन नसकेको उनले गुनासो गरे । भारतबाट आयात हुने फूललाई भन्सार दर बढाइदिने हो भने पनि नेपाली व्यवसायीले लगानी गरेर उत्पादन बढाउँछन् भन्दा समेत सम्बन्धी निकायले नसुनेको उनले बताए ।
हुन पनि भन्सारमा कडाइ गर्ने बित्तिकै नेपालमा भारतीय फूलको प्रवेश कम हुन्छ भन्न सकिने अवस्था छैन । किनभने नेपाल र भारत बिच खुल्ला सिमाना रहेका कारण पनि भन्सार दर बढाउने बित्तिकै अवैध मार्गबाट फूल भित्रिने देखिन्छ । अवैध मार्गबाट आएका फूलहरू झन् सस्तोमा बिक्री हुने देखिन्छ । यसले गर्दा न नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्छ न सरकारले भन्सार पाउँछ । सरकारले अवैध मार्गबाट आयात हुने फूललाई रोक्नु पर्ने र वैध मार्गबाट आउने आयातित फूलको भन्सार दर बढाइदिनु पर्ने उनले माग गरे । आर्थिक न्यूजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे