२०८१ कार्तिक २२, बिहिबार
तस्करी हुने क्रम बढे पनि त्यसलाई रोक्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न नसकेको गुनासा बढेका छन् । विभाग र सुरक्षाकर्मीको फितलो उपस्थितिका कारण सीमाक्षेत्रमा कपडा, चिनी, रड, सिमेन्ट, खाद्यान्न, हार्डवेयरजस्ता सामानहरूको तस्करी हुने क्रम नरोकिएको हो ।
राजस्व अनुसन्धान विभागमा राजनीतिक हस्तक्षेप भई विभागको नेतृत्व अस्थिर बन्न पुग्दा त्यसको फाइदा तस्करहरूले उठाउने गरेको सरकारी अधिकारीहरूकै दाबी छ । राजस्व अनुसन्धान विभागमा एक वर्षभित्रै ४ जनासम्म महानिर्देशकहरू फेरिएका छन् ।
राजस्व अनुसन्धान विभाग अस्थिर बनेसँगै तस्करहरूले मौकाको फाइदा उठाउँदै तस्करीलाई व्यापक पारेका हुन् । राजस्व प्रशासन अस्थिर भएसँगै पछिल्ला केही समयदेखि सीमानाकामा राजस्व अनुसन्धान विभागको उपस्थिति पनि कमजोर देखिँदै आएको छ ।
राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार पछिल्ला दिनमा विभागमा नै ठूलाठूला तस्करीको आरोप लागेका व्यक्तिहरूले विभिन्न बहानामा ‘माथिको आदेश’ भन्दै महानिर्देशकलगायतका उच्च अधिकारीसँगको भेटघाटलाई तीव्र पारिरहेको बताइन्छ ।
फाइल खडा गरेर अनुसन्धान भइरहेको विषयका सम्बन्धित व्यक्तिलाई महानिर्देशकले कार्यालयमा नै भेट्नुलाई आचारसंहिताविपरीत मानिन्छ । यस्तो कार्यले थप शंका उब्जाएको छ । ‘अनुसन्धान भइरहँदा आरोपितलाई भेट्ने होइन बयान लिने हो’ –विभागका एक अधिकृतले भने । नेपाल समाचारपत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे