२०८१ मंसिर ८, शनिबार
प्रहरीले विराटनगरबाट आइतबार ८६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । तीमध्ये तोडफोड एवं आक्रमणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउने तयारी गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएकामध्ये ६० जनालाई छाडिसकिएको छ ।
अन्यलाई भने घटनाको विश्लेषणपछि अभद्र व्यवहार मुद्दा चलाउने निस्कर्षमा प्रहरी पुगेको हो । सोमबार सार्वजनिक बिदा परेका कारण उनीहरूविरुद्ध मंगलबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिंसात्मक एवं उग्र प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएकामध्ये महिला, अशक्त र वृद्धवृद्धालाई मात्रै छाडिएको छ ।
‘अराजक गतिविधिमा संलग्न नभएका तथा शारीरिक अवस्था कमजोर रहेकालाई छाडिएको हो,’ डीएसपी दाहालले भने, ‘अन्यविरुद्ध कानुन अनुसार कारबाही अघि बढाउने तयारी छ ।’ नियन्त्रणमा लिइएकाबाट भाला, लाट्ठी, भाटा, बाँस, गुलेली, ढुंगासमेत बरामद भएको उनले बताए । प्रदर्शनका क्रममा उत्तेजना फैलाएर हिंसा भड्काउने, प्रदेशको स्वास्थ्य मन्त्रालयमा तोडफोड एवं सुरक्षाकर्मीमाथि आक्रमण गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउनेलाई मुद्दा चलाउन लागिएको प्रहरीको भनाइ छ ।
कोसी प्रदेशको दोस्रो एवं बजेट अधिवेशन बिथोल्ने हिसाबले पहिचान पक्षधरले आइतबार विराटनगरमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रदर्शनकारीले प्रदेशसभा भवनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुडा एवं आक्रमण गरे । ढुंगा प्रहार गरेर प्रदेशको स्वास्थ्य मन्त्रालयमा क्षति पुर्याए । ढुंगाले मन्त्रालय भवनको शिशा फुटेका छन् । अवस्था तनावग्रस्त बनेपछि मन्त्रालयका कर्मचारीबीचमा भाडदौड मच्चिएको थियो । अन्नपूर्ण दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे