२०८१ मंसिर ८, शनिबार
छेडागाडका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले होटल व्यवसायीसँगको मिलेमतोमा बढी रकमको बिल बनाएर भुक्तानी गरेको पाइएको छ । बिल शंकास्पद पाइएपछि नगरपालिकाले जनप्रतिनिधिकै संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छेडागाड–१२ का वडाध्यक्षसमेत रहेका छानबिन समिति संयोजक प्रेमबहादुर खत्रीले होटल सञ्चालक र प्रशासकीय अधिकृतले मिलेर अनियमितता गरेको पाइएको बताए ।
जनप्रतिनिधिले खाना–खाजा खाएको भनेर ४२ लाखको बिल बनाइएको र त्यसमध्ये २५ लाखभन्दा बढी भुक्तानी भइसकेको उनले जानकारी दिए । गत वर्ष वैशाखमा जनप्रनिनिधि निर्वाचित भएर आएयता खाना र नास्तामा यो रकम खर्च भएको भनेर बिल बनाइएको छ । जबकि दुईवटा नगरसभामा गरी खाना–खाजामा २ लाख ७० हजार र कलम–कापीमा १ लाख ७० हजारमात्र खर्च भएको जनप्रतिनिधिले बताएका छन् ।
छानबिन समिति संयोजक खत्रीका अनुसार न्यौपाने होटलको २५ लाख ६० हजार ८२५ मध्ये १२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । दीपा होटलको १६ लाख ८५ हजार ५०२ रुपैयाँ भने भुक्तानी भइसकेको छ । २०७९ असार १ मा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेयता दुईवटा नगरसभा भएका छन् भने १६ पटक कार्यपालिका बैठक बसेको छ । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले खाना खाने ठाउँ एउटै भएका कारण बिल मिलाउन सजिलो भएको छानबिन समिति संयोजक खत्रीले बताए ।
प्रशासकीय अधिकृतसँग मिलेर बढी रकमको बिल बनाएको होटल सञ्चालकहरुले बताएको खत्रीले सुनाए । एक वर्ष नबित्दै यति ठूलो रकमको बिल आएपछि आफूहरु चकित भएको जनप्रतिनिधिले बताएका छन् । लेखा फाँटमा ठूलो बिल पुगेर धेरैजसो रकम भुक्तानी भइसकेपछि मात्र आफूहरुले थाहा पाएको वडाध्यक्ष खत्रीले बताए ।
छेडागाडका नगरप्रमुख रत्नबहादुर खड्काले ठूलो रकमको बिल आएको र छानबिन जारी रहेको बताए । “ठूलै घोटाला भएको अनुमान छ । फेक बिल बनाएको शंका लागेकै कारण छानबिन समिति बनाएर काम भइरहेको छ,” उनले भने । नक्कली बिल बनाएर विवादमा मुछिएका निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायसँग भने सम्पर्क हुन सकेन । कारोबार दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे