२०८१ मंसिर ८, शनिबार
स्वयं सदस्यसचिव थापासँग अख्तियारले दुई वर्षअघि नै बयान लिइसकेको छ । जलहरीको तौल र त्यसको गुणस्तरको अनुसन्धान बाँकी रहेको अख्तियार स्रोत बताउँछ । त्यसको टुंगो लागिनसकेको अवस्थामा मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जलहरी प्रकरणबारे बुझ्न थापालाई बैठकमा डाकेको थियो । त्यस क्रममा थापाले जलहरी निर्माणमा अनियमितता नभएको र तौलसमेत तोकिएको परिमाणअनुसार नै रहेको जिकिर गरेका छन् ।
तर, नेपाल सरकारले दिएको ३० करोड र पशुपति क्षेत्र विकास कोषबाट ५० करोड खर्चिएर बनाइएको सुनको पूरा परिमाणमा जलहरी नबनाइ हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । त्यसपछि अघि बढेको अनुसन्धानका क्रममा जलहरीको मुचुल्का नै शंकास्पद देखिएको थियो भने जलहरीको निर्माण पनि तामाको काम गर्ने कालीगढ खटाइएका थिए । तोकिएको परिमाणमा जलहरी नबनाएको स्वयं कोषकै मुचुल्काबाट खुल्छ । त्यस्तै जलहरी बनाउँदा लगाइने अन्य धातुको मात्रा पनि तोकिएभन्दा बढी लगाइएको आरोप छ ।
उनको नियुक्ति पनि शंकास्पद रुपमा गरियो । यो पृष्ठभूमिमा अनुसन्धान प्रभावित बनाउने गरी थापाले संसदीय समितिमा जलहरी प्रकरण बाहिरिएको २ वर्ष पछि आफू निर्दोष रहेको र जलहरी तोकिएकै परिमाणमा रहेको बताएका हुन् । जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको समितिमा उनको जिकिर छ । पटक–पटक सो जलहरीको सुनको तौल लिन आफूले गरेको आग्रहलाई बेवास्ता गर्दै राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्यसचिव थापा रोएका थिए ।
थापाले भने, यो केसमा मैले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? मलाई लाग्छ, राज्यको पनि कहिले काहीँ कान मात्रै हुँदो रहेछ, आँखा हुँदै रहेनछ कि जस्तो लाग्छ । मलाई दुःख लाग्छ । जहाँसम्म यो सुनको जलहरीको कुरा हो । म एउटा अध्यात्म क्षेत्रमा लागेको व्यक्ति । भगवान पशुपतिनाथको कृपाले कोषाध्यक्ष भएर फेरि सदस्यसचिव बन्ने मौका पाएँ । मेरो प्रोफेसनल स्किल आफ्नै छ । र मलाई धेरै जनाले सायद चिन्नु पनि हुन्छ होला । मलाई पशुपतिको भेटी तलमाथि गरेर कुनै जग्गा, जमिन बेचेर खानु छैन । खाँदिन पनि । मेरा दुई सन्तान छन् । धनी र गरिब मर्दा एउटै कात्रो ओढेर जाने ठाउँ हो पशुपति हो । मैले यति बुझेको छु । आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरुपयोग गरेर बाँच्न नपर्ने बताए । कान्तिपुर दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे