२०८१ मंसिर ८, शनिबार
मेला राजधानीको भृकुटीमण्डपमा सञ्चालन गरिएको थियो। सभामुख देवराज घिमिरेले बिहीबार बिहान मेला उद्घाटन गर्नुभएको थियो। सभामुखले उद्घाटन गरेको केही घण्टामै महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा गएको टोलीले मेला बन्द गर्न लगाएको हो।
मेला स्थगित गराउनुमा महानगरपालिकाले दुई वटा तर्क अघि सारेको छ। आफूहरूलाई जानकारी नगराई मेलाको आयोजना गरेको र माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक नहुँदै विद्यार्थीलाई प्रलोभनमा पारेर विद्यालय/कलेज सञ्चालकले विद्यार्थीको भर्ना, नाम दर्ता तथा सम्पर्क नम्बर टिपेर राखेकाले मेला स्थगित गर्न लगाइएको कामपाको भनाइ छ। मेलामा विशेष गरेर एसइई दिएर बसेका विद्यार्थीलाई माथिल्लो तहमा कुन विषय पढ्ने र कुन विषय पढ्दा कति शुल्क लाग्छ लगायतका विषयमा जानकारी गराइएको थियो।
एसइईको नतिजा सार्वजनिक नभएसम्म विद्यार्थी भर्ना प्रक्रिया सुरु नगर्न महानगरपालिकाले जेठ २४ गते नै सार्वजनिक सूचना जारी गरेर कलेज/विद्यालय सञ्चालकलाई सचेत गराएको थियो तर मेलामा उक्त सूचनाविपरीत सञ्चालकले विद्यार्थी भर्ना प्रक्रिया अघि बढाएको तथा केही कलेजले मेलामा नै विद्यार्थी भर्नासमेत गरेको महानगरपालिकाको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो।
मेलामा विद्यार्थी भर्ना प्रक्रिया अघि बढाइएको छ कि छैन भन्ने विषयमा सूचना सङ्कलन गर्न महानगरपालिकाले बिहीबार नै सुराकीका रूपमा आफ्ना कर्मचारी खटाएको थियो। अभिभावक बनेर भर्ना प्रक्रियाबारे जानकारी लिन गएका ती कर्मचारीलाई मेलामा राखिएका स्टलका परामर्शदाताले विषयगत रूपमा पढ्दा आफ्नो शैक्षिक संस्थामा लाग्ने शुल्क, छात्रवृत्तिलगायतका विषयमा जानकारी दिएर उनीहरूको सम्पर्क ठेगानासमेत राखेको थियो। त्यसपछि ती कर्मचारीले यसबारेमा महानगरपालिका प्रमुख बालेन्द्र शाहको सचिवालयमा जानकारी गराएका थिए।
सोही जानकारीका आधारमा महानगरका नगरप्रहरी प्रमुख पाण्डेको नेतृत्वमा गएको टोलीले मेला बन्द गराएको हो। एसइईको नतिजा कुरेर बसेका विद्यार्थीलाई अहिले नै यस्ता जानकारी दिन नपाइने महानगरपालिकाका शिक्षा विभाग प्रमुख कोइरालाले जानकारी दिनुभयो। मेलामार्फत कुनै पनि विद्यार्थीलाई विदेशमा हुने शिक्षाका बारेमा जानकारी दिन पाइने तर उनीहरूको मोबाइल नम्बर, इमेल जस्ता व्यक्तिगत विवरण लिन नपाइने महानगरको दाबी छ। गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे