२०८१ मंसिर ६, बिहिबार
-श्रीधर लामिछाने
प्रिय भाइ,मिठो सम्झना।
विजय दशमी तथा दिपावली र छठपर्व भर्खरै हामीमाझ बाट बिदाई भैसकेको छ। अर्थात हामी भर्खरै चाडपर्व मनाएर फुर्सदिला भएका छौँ।नेपालमा जस्तै रमझम नभए पनि परदेशमा चाडपर्वको आगमनले केहि नेपाली मनहरुमा पक्कै हलचल गराएको हुनुपर्छ ।
मलाई भने यौटा घटना देखेर एक दुइ हप्ता देखि बडो ताजुब लागेको छ र तिमीलाई पनि यो कुरा सेयर गर्दै छु । यस पटक तिमीलाई म सधै भन्दा नयाँ एउटा वास्तविक घटना मा आधारित कथा सुनाउछु ल ?
गैराघरे माइलीदीदी लामो समय देखि विरामी परेको तिमिलाइ थाहै छ । हुनत ति रगतको नाताले हाम्रो कोइ हैनन् र पनि मानवीय नाताले पनि उनको र हाम्रो घरको उनि संगै प्रत्यक्ष नभए पनि अप्रत्यक्ष सम्बन्ध हुने नै भयो । फेरी कुनै बेला छिमेकी मध्ये उनि अत्यन्त सहयोगी थिइन् । ति माईली दिदीको छोरा गाउँ समाजले चिनेको र चल्तापुर्जा पनि हुन् । साँच्चै भन्दा तिमि अमेरिका जाँदा पनि हामीले उनको छोराको सहयोग लिएका थियौं ।
अस्तिको दिन उनको देहान्त भयो देहान्त भएकै दिन मुहार पुस्तिकामा (Face book) ठुलो तस्बिर सहितको शोक संदेश आयो । लेखेको थियो “हाम्री प्यारी आमा हामी सबै लाइ टुहुरो बनाएर स्वर्ग जानु भयो । आमाको आत्माले चिर शान्ति पाओस” । उनका टुहुरा छोराछोरी नातिनातिनी सबैको नाम लेखेर दिएको त्यो संदेश देखेर उनलाई चिन्ने जान्ने सबै तिन छक्क परे ।
अनुमान गर्छौ किन होला छक्क परेको ??
खास कथा त अब शुरु हुन्छ सुन : मृत्यु हुँदाको बखत उनी त्यहि साठी पैसठ्ठी कि थिइन होलिन्। उनलाई ४२ वर्षको उमेर देखि कुष्ठ रोगले सतायो । उनका हात र खुट्टाका सबै औलामा घाउ देखिए । बिस्तारै एक दुइ औला झरे पनि । झर्दैन थियो होला सायद बेलामा उपचार गरेको भए। उनीहरुले त्यो घाउ कुष्ठ रोग भन्ने कसैलाई थाहा दिन चाहेनन् । त्यसैले हेल्थपोष्टको उपचारमा मात्र सिमित राखे आमालाई। लेले आनन्दवन को कुष्ठ रोग अस्पतालमा समेत लगेनन्। त्यहाँ कुष्ठ रोगको नि:शुल्क उपचार हुने कुरा पनि थाहा थियो तर लगेनन्। त्यसरी नलैजानुको कारण एउटा मात्र त्यो हो। त्यस बारे गाउँ समाजलाई आफ्नो बारे थाहा नदिने भन्ने । कसैले आमा बारे सोधे भने छोरा बुहारी अझ नाती नातिनी ले समेत आमा बिरामी हुनुन्छ । बाहिर आउन सक्नु हुन्न मात्र भनि रहे। आमाका छोरी पट्टिका नाती नातिनीलाई समेत टिका लाउन दिएनन् ।
शुरु शुरमा आमाले उपचारको लागि छोरा बुहारी संग धेरै अनुनय बिनय गरिन तर छोराबुहारीले टेरपुच्छर लाएनन्।
बुढी आमाको औंला नझर्दै उनको छोराको बिहे भएको थियो । छोराको बिहेमा समेत आमालाई छोराले बाहिरी संसारमा ल्याएनन । एक दुइ पटक अस्पताल लगेर सामान्य औसधि खुवाएका हुनाले घाउ माथि सरेन । तर घाउ पुरै निको पनि भएन । झन्दै आज भन्दा विस वर्ष अघि देखि आमा एउटा कोठामा थन्कि रहेकी हुन् । सम्धी आउँन कि सम्धिनी । बुहारीका भाई आउँन कि बुहारी कसैलाई देख भेट गर्न नदिएर काल कोठरीमा राखेर नै उनको २० देखि २२ वर्ष बित्यो। एक्लो जीवन त्यो पनि त्यस्तो कष्ट सहेर बिस बिस वर्ष समय नारकीय जीवन जिउनु !!!! कल्पना नै गर्न नसकिने स्थिति। अहो …..!!
तिमिलाई थाह छ ? एक पटक त झन्डै सम्धिनी त्यै कोठामा पसेकी छोरा ले त्यता एक जान छुइ भएको मानिस राखेको छ त्यता नजानुस भनेर रोके। उनका अरु मानिसलाई त्यसरी नै आलटाल गरि रहे। बुढीलाई घामको समेत कहिले दर्शन गराएनन् ।
अहिले बुढी बिते पछी तिनै छोरा बुहारी बडो नाटक गर्दै छन् । आँसु नआए पनि आँखामा थुक लगाएर आँशु झरेको नक्कल गर्दैछन् । आखिर तिनै आमाको सन्तान अहिले फेसबुकमा पो नक्कल गर्दै हिडेका छन् कस्तो समाज होला हामी कसैले पनि बुढी आमाको दर्द बुझेनौं अझ भन्दा बुझ्ने कोशिस समेत गरेनौं ।
अनि आमाका नाती नातिनीको फेसबुक, इन्ष्टाग्राम, आदि सामाजिक संजाल भरि यस्ती प्यारी आमा उस्ती प्यारी आमा हामीलाई छोडेर जानु भो भनेर कोकोहोलो हाले झैं गरेर पो लेख्छन । अब ढुक्क भो भनेर चाही लेख्दैनन बा ……!
अझ थप रमाइलो कुरा त के भने ति आमाको १३ रौँ दिनमा गाउँले मात्र हैन टाढा टाढाका साथी भाइ इष्टमित्र सबै लाइ बोलाए। आमाको तेह्रौँ दिनको पितृको प्रसाद ग्रहण गर्न भनेर बोलाए। बोलाएका पनि खचाखच आएर शोक पुस्तिकामा शोकका अनेकानेक शब्द जाल लेखिरहेको देखियो । दुइ चार शब्द लेख्ने अनि उनकै सन्तानले आमाको शोकको नाटक गरेर आयोजना गरेको भोज को मज्जा लुटेर जाने गरे । मानिलिउँ नव दुलही भित्रिएको परिवारमा आएको सुखानुभूति जस्तो !! अझ भन्दा धेरै समय सन्तान नभएर भर्खर सन्तान प्राप्त गर्नेले आयोजना गरेको भोज खाए जस्तो । धन्न हर्ष बढाइ गरेर नाचगान गरेनन्।
मेरो भनाइ के भने जीवित छंदा नै आफ्ना आमा बा को राम्रो स्याहार सम्भार गर्ने गरौं । मिठो खान दिने आफ्नो औकात अनुसार लाउन दिने , घुमघाम साथ साथ् गर्ने आवस्यकता अनुसार औषधि उपचार गर्न पो बेस होला त । बा आमाको मृत्यु पश्चात यो ढोंगी समाज लाइ मिठो मिठो ख्वाएर नाटक नगरम भन्ने हो । त्यसैमा जिउँदा बा आमा पनि रमाउने आफुलाई पनि सन्तोष हुने हुन्थ्यो कि कसो हो ?
हुन पनि आजकाल यस्ता ढोंगी धेरै हुदै छन् हाम्रो समाजमा । बाढी पहिरो , प्राकृतिक बिपत्ति , आगलागी जस्तोमा सहयोगी हात भेट्न गार्हो छ । तर मरेको मानिसको शोक भनेर भोज खुवाउने नकचरो चलन नचलाए कति राम्रो हुन्थ्यो हगी ?
अहिले लाइ यो विषयमा यत्ति नै कुरा गरम भाइ अर्को पत्रमा अर्को विषयमा छलफल गरौंला ।
तिम्रो माया गर्ने ठुल्दाई
हाल अष्ट्रेलिया।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे