२०८१ मंसिर ११, मंगलबार
सी.जी. “निर्मलश्री”
मैले !
मैले !
भन्ने गर्थेँ नि तिमीलाई–
भाग्यमा छ भन्दैमा
घमण्ड गर्न हुँदैन
न तिमीले न मैले नै
दैव लाग्यो भने त
वर्षातको समयमा समेत
घर जल्न सक्छ
मन खरानी हुन सक्छ
आखिर !
हुन खोजेको त्यस्तै त रहेछ।
मैले !
तिमीलाई याद
गरिनँ भने
बेचैन भै रहेको हुन्छ मन्
थाहा छैन यो जिन्दगी
श्वाँसले चलिरहेको छ
या तिम्रो
यादहरुको बेचैनीले
आखिर !
प्रमाणित हुँदैन र
तिम्रो याद नै मेरो निश्वाँस रहेछ।
मैले !
मेरै मन र मुटूमा
तिम्रै समर्पणमा यादहरुको
सँगालिरहेको थिएँ
ढोकैमा कसैले ढ्वाङ्ग ढ्वाङ्ग
गरिरहेको थियो–
ढोका खोलेर हेर्दा
आवाज आईरहेको थियो–
“खाली बोतल ! पुराना कागज ”
“अरे हुजूर !
पुराना काम नलाग्ने
समानहरु भए दिई दिनुस्”
एउटा कवाडी,
उसले डोर्याई रहेको साइकल
केही थान पुराना सामानहरु
र उसले
मागिरहेको थियो मसँग
त्यस्तै केही कवाडी सामानहरु
ढोकैमा साइकल डोर्याएर
उभिएको
कवाडीलाई भन्न पुगेछु–
“मसँग त केवल !
उनका यादहरु छन्
मेरो श्वाँसमा केवल उनको नाम छ
मेरो मुटुमा केवल उनकै चित्र छ
के यी कवाड हुन् र ?
लैजान्छौ र तिमीले
मेरो र उनको यादहरुलाई”
डोर्याउँदै गरेको साइकल
गुडाउँदै हिँड्यो ऊ
खिस्स हाँसेर बोल्दै हिँड्यो—
“अरे ! हुजूर !
ती त सब बहुमूल्य गहना हुन्
अमूल्य समान् हुन्
जसको कोनै मूल्य हुँदैन
हुजूरको समान् बहुमूल्य छन्”।
मैले !
मेरो मन र मुटूलाई
मेरो मनमा कोरिएको तिम्रो
कल्पनाको अमूल्य प्रतिमूर्तिलाई
मेरा हरेक श्वाँस र निश्वाँसमा बहेका
तिम्रा यादहरुको
प्रतिछायाँलाई
सँधैं अमूल्य बनाएर राखेको छु
तिमी !
तिम्रो याद र तिम्रो साथ
सँधैं मेरालागि
अमूल्य भएर बसिरहेका छन्
बाँचिरहेका छन्।
(यादहरु बहुरत्न हुन् कवाडीका साधन होइनन्)
टीकापुर, कैलाली
हाल : काठमाण्डौं
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे