२०८१ फागुन २५, आईतबार
काठमाडौँमा साइकल चलाउन सिकाउने प्रशिक्षण भन्दा या सुन्दा यो आवश्यक छ र भन्ने लाग्न सक्छ तर यो आवश्यक मात्र होइन अति आवश्यक छ । कार्यक्रममा वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले भन्नुभयो, ‘साइकल चलाउने जान्ने भएर हजुरआमाहरुको, आमाहरुको, गृहिणीहरुको जीवनशैली नै अर्कै भएको छ ।’
‘सडक र ढल बनाउनु मात्र विकास होइन । स्वास्थ्य, शिक्षा, खेलकुदसँगै सामाजिक व्यवथापनका काम गर्नु पनि विकास हो ।’ डंगोलले भन्नुभयो, ‘ठूलो घर हुनु मात्र सम्पत्ति होइन । आपसमा भेटघाट गर्न पाइएन भने आत्मीयता भएन भने घर र पैसाले मात्र सुख दिँदैन । यसकारण हामीले यस्ता क्षेत्रमा लगानी बढाएका छौँ ।’ डंगोलको भनाइ थियो ।
‘वडाको सहयोगमा स्वयम्भू डल्लु साइकल पुचले साइकल प्रशिक्षण सञ्चालन गरिरहेको छ । अहिलेसम्ममा ५ वटा समूहको प्रशिक्षण सकियो । अहिलेसम्म प्रशिक्षणमा आउनेमध्येको कम उमेर २३ वर्षको छ । उहाँहरुमध्ये पनि विवाहित धेरै हुनुहुन्छ ।’ कार्यक्रमका बारेमा जानकारी दिँदै कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनले भन्नुभयो, ‘आमाछोरी, सासुबुहारी, श्रीमान्श्रीमती, दिदीबहिनीहरु प्रशिक्षणमा हुनुहुन्छ । अघिल्ला चरणमा साइकल सिक्नेहरु बुढानीलकण्ठ, भक्तपुर ललितपुरसहित विभिन्न ठाउँमा साइकल लिएर जान सक्ने हुनुभएको छ ।’
वडाले नागरिकका अपेक्षा अनुसार कार्यक्रम तर्जुमा तथा कार्यान्वयनलाई प्राथमिकता दिएको छ । वडा सचिव प्रमोद अधिकारी भन्नुहुन्छ, ‘साइकल प्रशिक्षण कार्यक्रम वडाका प्रभावकारी कार्यक्रममध्येको एउटा हो ।’ वडा सदस्य विजु श्रेष्ठले साइकल सिक्दा आपसी सम्बन्ध प्रगाढ बनेको र सामाजिक विवादहरु कम हुन थालेको महसुस गर्नुभएको छ । यस्तै अर्का वडा सदस्य रीता मिजारले, समतामूलक समाज निर्माणमा प्रशिक्षण सिकाइ योग्य कार्यक्रम रहेको उल्लेख गर्नुभयो ।
किशोरीहरु भने साइकल सिक्न लजाउने गरेको साइकल पुचःका अध्यक्ष मचाकाजी महर्जनको अनुभव छ । साइकल सिक्नेहरुले प्रशिक्षणबाट आफूहरुले बाहिरी संसारमा पहुँच कढेको अनुभूति सुनाउनुभयो । यस क्रममा वडाका इञ्जिनियर सुमन वादे श्रेष्ठले श्रीमतीले साइकल सिक्दाको अनुभव सुनाउँदै भन्नुभयो, श्रीमतीले साइकल गुडाउन सिक्दा सिक्दै मैले घरमा खाना बनाउन सिकेँ । एक महिना भयो, उहाँले पनि राम्ररी साइकल गुडाउन सक्नुभएको छैन । मैले पनि राम्ररी खाना बनाउन सकेको छैन । एक महिना अवधि थपौँ । श्रीमती राम्ररी साइकल कुदाउन सक्ने हुन्छिन् । म राम्ररी खाना बनाउन जान्ने हुन्छु ।
प्रशिक्षणका लागि दर्ता शुल्क ५ सय रुपैयाँ तिर्नुपर्छ । प्रशिक्षण भने निःशुल्क हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे