२०८१ पौष २२, सोमबार
जिल्ला समन्वय समितिको पहलमा गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, पत्रकारलगायतको उपस्थितिमा नारायणीको धार परिवर्तन गर्न लागिएको हो । नारायणीको उत्खनन धेरै हुँदा नदी गहिरिएर दक्षिणी भँगालो (चितवन क्षेत्र) मा पानीको बहाव धेरै हुँदा उत्तरी भँगालो (नवलपुर क्षेत्र) भने हिउँद लागेलगत्तै सुक्खाग्रस्त हुँदै गएको छ । यसका कारण मानिस मरेर जलाएको खरानी बगाउन र दाहसंस्कारपछि नुहाउन तथा सरसफाइ गर्न निकै समस्या परेको स्थानीयले गुनासो गर्ने गरेका छन् ।
“कोही मरेपछि मलामी जाँदा गाली मात्र पाइन्छ, त्यसैले सकेसम्म मलामी नै जान नपरे हुन्थ्यो भन्ने लाग्छ,” गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले भन्नुभयो, “मलामी गइहाले पनि म त सहभागी भएर फर्किहाल्छु, नत्र जनप्रतिनिधि भएर नदी सुक्खा हुँदा पनि चुप लागेर बसेको भन्दै स्थानीयले गाली गरेर बस्न टिक्न दिन्नन् ।”
नदीको धार परिवर्तनले घडियाल गोहीको वासस्थान नै लोप हुँदै गएको छ भने गैँडाका लागि आहाल खेल्ने पानीको समेत समस्या भएको संरक्षणकर्मीले बताएका छन् । नारायणीको उत्तरी भँगालो आश्रित भएर नवलपुरका तटीय क्षेत्रमा सञ्चालन भएका पर्यापर्यटनका गतिविधि सँगसँगै नदीमा आश्रित जलचर र थलचर प्राणीलाई समेत यसले गम्भीर असर पार्ने गैँडा संरक्षण समन्वय समिति नवलपुरका अध्यक्ष विष्णु अधिकारीले बताउनुभयो ।
उत्तरी भँगालोमा नदीको पानी कम हुँदा निकुञ्जका वन्यजन्तुसमेत सहजै नवलपुर क्षेत्रका बस्तीमा प्रवेश गर्ने र यसले मानव–वन्यजन्तु द्वन्द्व थप बढ्ने गैँडाकोट–११ का अध्यक्ष सुवेदीले बताउनुभयो ।
चितवनतर्फ विकास निर्माण तथा नारायणी नदीको तटबन्धका लागि सेतीदेवी र मजुवा सामुदायिक वन आसपास अत्यधिक मात्रामा नदी उत्खनन गर्दा गहिरिएर नदीको बहाव दक्षिण भँगालोेतर्फ सोझिएको जिल्ला समन्वय प्रमुख बाबुराम विश्वकर्माको भनाइ छ । मध्यवर्ती (नवलपुर क्षेत्र) को अप्ठ्यारो कानुनका कारण नदीजन्य पदार्थ उत्खनन गर्न नपाउँदा उत्तरी भँगालो अग्लो भएर पानी पास हुन नसकेको विश्वकर्माको भनाइ छ ।
“मध्यवर्ती क्षेत्रको कानुन निकै अप्ठ्यारो र अव्यावहारिक रहेछ । व्यावहारिक कानुन नहुँदा जनताले दुःख पाइरहेका छन्,” समन्वय प्रमुख विश्वकर्माले भन्नुभयो, “जनताको जीवनसँग जोडिने व्यावहारिक कानुनले मध्यवर्ती क्षेत्रलाई धेरै अप्ठ्यारो पारेको छ ।” उहाँले जनतालाई अवरोध गर्ने मध्यवर्ती क्षेत्रको कानुन संशोधन नगर्ने हो भने मध्यवर्ती नै खारेज गर्ने गरी जनताले आन्दोलन गर्ने बताउनुभयो ।
नारायणघाटमा रहेको नारायणी नदीको पुलदेखि केही किलोमिटर तल सिख्रौलीघाटबाट नारायणी नदी दुई वटा भँगालोमा बाँडिएर बगेको छ । उत्तरी र दक्षिणी भँगालो अमलटारीघाटमा आएर मिसिने हुँदा अमलटारीदेखि सिख्रौलीसम्मको उत्तरी भँगालो लगभग सुक्खा भएपछि नदीमा आश्रित वन्यजन्तु, जलचर मात्रै नभएर नदीबाट जीविकोपार्जन गर्ने ठुलो सङ्ख्याका सर्वसाधारण समस्यामा परेका देखिन्छ ।
नारायणीको उत्तरी भँगालोमा पानी सुक्दै गएपछि नदीमा माछा मारेर जीविकोपार्जन गर्ने बोटे, माझी, मुसहर समुदाय पनि समस्यामा परेका छन् । ३५ वर्षदेखि नारायणीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका देवचुलीका जितबहादुर मुसहरले उत्तरी भँगालो सुक्खाग्रस्त हुँदा तटीय क्षेत्रका समुदायलाई समस्या परेको बताउनुभयो । “भँगालोपारि निकुञ्ज छ, त्यहाँभित्रका घोलहरूमा गएर माछा मार्न पाइन्न । हामीले माछा मार्ने भँगालो सुकेको छ । माछा मारेर त्यही माछा बेची घरखर्च चलाउने गरिन्थ्यो, अहिले निकै गाह्रो छ,” जितबहादुरले भन्नुभयो ।
प्राकृतिक कारणले नदीले धार परिवर्तन गर्नु स्वाभाविक भए पनि मानवीय क्रियाकलापका कारण नदीको धार परिवर्तन हुनु दुःखद भएको सिसवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताउनुभयो । चितवनतर्फ विकास निर्माणका लागि अत्यधिक मात्रामा नदी उत्खनन गरिँदा नवलपुर क्षेत्रको तटीय क्षेत्र सुक्खाग्रस्त हुँदै गएको र यसले भविष्यमा यस क्षेत्रमा गम्भीर नकारात्मक असर पुर्याउने पाण्डेको भनाइ छ ।
नारायणी नदीको उत्तरी भँगालोमा पानीको सतह घट्दै गएपछि निकुञ्जको समेत सुरक्षा चुनौती बढेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बताउनुभयो । “स्वाभाविक रूपमा उत्तरी भँगालोमा पानी कम हुँदा निकुञ्जको सुरक्षा चुनौती बढेको छ, आगामी दिनमा जैविक विविधता र नारायणी तथा निकुञ्ज आश्रित जनसमुदायमा यसले गम्भीर असर पुग्ने देखिएको छ । यसको दीर्घकालीन समाधान खोज्नु पर्छ,” पन्तले भन्नुभयो ।
दुई वटा डोजरले कम्तीमा एक हप्ता काम गरेर चितवनतर्फ बगेको नारायणीको एक तिहाइ पानी नवलपुर क्षेत्रमा बग्ने बनाउने गरी काम थालिएको छ । कतिपयले भने अहिले यसरी डोजर लगाएर नदीको धार परिवर्तन गराउँदा वर्षायाममा पनि नारायणीले नवलपुर क्षेत्रकै धार समात्यो भने थेग्न नसक्ने गरी क्षति हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला विपत् व्यवस्थापन समितिबाट निर्णय गराएर नदीमा डोजर लगाउन पुगेको टोलीले भने त्यसरी आत्तिन नपर्ने बताएको छ । यो हिउँदे कुलो जस्तो भएकाले वर्षामा नदीको वेगले लिने धार फरक पर्ने बताउनुहुन्छ, जिल्ला समन्वय प्रमुख विश्वकर्मा । वर्षामा नारायणीले क्षति पु¥याउँदै आए पनि पानी नहुँदाको समस्या झन् ठुलो भएको उहाँले बताउनुभयो । गोरखापत्रका लागि बोमलाल गिरीले लेखेका हुन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे