माघ १४- लामो समयको खडेरीले रुकुम पूर्वका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ तथा तरकारी सुक्न थालेका छन ।

खडेरीले जिल्लाका अधिकांश ठाउँमा कात्तिक-मङ्सिरमा छरेको गहुँ र जौसँगै अलि अलि उम्रेको तरकारी बाली पनि सुक्दै गएको छ ।

सिँचाइ नभएको क्षेत्रमा लगाएको हिउँदे बाली जौ, गहुँ खडेरीले धमाधम सुक्न थालेपछि यहाँका किसानलाई कसरी खानेकराको जोहो गर्ने भन्ने चिन्ताले सताएको छ।

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको अधिकांश ठाउँमा हिउँदे बाली, तरकारी, गहुँ, जौ पानी नहुँदा अहिले सुकेर पहेँलो भएको छ ।

जिल्लामा सिँचाइको सुविधा भएको ठाउँमा पनि पानी आकाशे पानी नपर्दा गहुँ राम्रो हुन नसकेको किसानहरु बताउँछन् ।

यो वर्ष हिउँदमा लामो समयसम्म पानी नपर्दा हिउँदे बाली गहुँ, जौ, तरकारी खेती सुक्न थालेको पुथा उत्तरगंगा गाउँपालिका-१० का स्थानीय जुनकुमारी बुढामगरले बताउनुभयो ।

कार्तिक, मङ्सिरमा पानी नपरे पनि पुस-माघ महिनामा पानी अवश्य पर्छ भनेर हिउँदे बाली छरेको तर आजसम्म पानी नपर्दा कतै बिउ नै नउम्रेक‍ो त कतै उम्रेको ठाउँमा पनि सुक्न थालेको छ ।

यसरी लामो समयसम्म खडेरी रहने हो भने बर्खाको समय यो क्षेत्रमा ठुलो भोकमरीको समस्या हुन सक्ने स्थानीयको चिन्ता छ ।

हिमपात नहुँदा पूर्वी क्षेत्रमा रहेको जिल्लाको अधिकांश क्षेत्रमा हिउँदमा छरेको बीउ अहिलेसम्म नउम्रेको भुमे गाउँपालिकाका स्थानीय प्रभात गुरुङले बताउनुभयो ।

माघमा पनि हिमपात नहुँदा धेरै क्षेत्रका गहुँसमेत सुक्न थालेका छन् । जाडो समयमा हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कातिर तुषारो र सुक्खायामले तरकारी बाली डढेको गुरुङले बताउनुभयो ।

यतिबेला पुस र माघ महिनासम्म पनि वर्षाद तथा हिमपात नभई खडेरी बढ्दै जाँदा यहाँका किसान चिन्तित बन्दै गएका छन् । गहुँ हिउँदे बाली भएकोले हिउँदमा वर्षा राम्रो भएन भने उत्पादन घट्छ भने हिउँदमा वर्षा राम्रो भएमा उत्पादन बढ्छ ।

अहिले पहिलेको तुलनामा उन्नत गहुँको बीउको प्रयोग बढ्दै गइरहेकाले गहुँको उत्पादन वृद्धि हुँदै गएको कृषि कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

यहाँ कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत मात्रै जमिनमा सिँचाइको सुविधा छ भने ८० प्रतिशत जमिनमा अहिले पनि आकाशे पानीको भरमा खेती हुने गरेको छ ।

जिल्लाको उत्पादन बढाई खाद्य सुरक्षामा टेवा पुग्नका लागि सिँचाइको क्षेत्र बिस्तार गर्न अति आवश्यक भएको भनाइ स्थानीयको छ ।।