२०८१ फागुन १६, शुक्रबार
मियाँ जस्तै खुर्सीद अन्सारीले दुई बिघामा केराखेती गरेका छन् । नौ लाख लागतमा उनले केराखेती गरेका हुन् । उनी लगानीसहित नाफा उठ्ने विश्वासका साथ केराको रेखदेख गरिरहेका थिए ।
यद्यपि, केही दिनअघिको हुरीबतासले केराखेतीमा क्षति गर्दा भने उनीहरु निरास छन् । केराखेतीमा गरिएको लगानीअनुसार प्रतिफल आउने निश्चिन्त भए पनि असिनापानीसँगै आएको हावाहुरीले केराखेतीमा ठूलो क्षति भएको उनीहरुको भनाइ छ ।
दुवै जना सुनसरीका लागि उदाहरणको पात्रमात्र हुन् । दुई दिन लगातार असिनापानीसँगै आएको हुरीबतासका कारणले सुनसरीका अधिकांश किसानको केराखेती तहसनहस भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ ।
गत आइतबार राति र सोमबार साँझको हुरीबतासले खेतमा लगाएको केराका बोट ढालेर ठूलो क्षति गरेको हो । स्थानीय किसानले ऋण लिएर गरेको केराखेतीमा एकैपटक यस्तो ठूलो हावाहुरी आएकाले लाखौँको लगानी डुबाउनेगरी क्षति भएको गुनासो स्थानीय किसानले गरेका छन् ।
सुनसरी सदरमुकाम इनरूवासहित दक्षिणवर्ती क्षेत्रमा पटक–पटक आएको ठूलो हुरीले केराखेतीसहित गहुँ र मकैखेतीमा पनि क्षति भएको स्थानीय किसानले बताएका छन् । इनरूवासहित, गढी गाउँपालिका, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको स्थानीय किसान जब्बर मियाँले बताए ।
दुई महिनापछि बजार लान मिल्ने अवस्थामा रहेका केरा ढलेर नोक्सान हुँदा किसानको आर्थिक क्षति भएको इनरूवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताले बताए । इनरूवामा मात्रै सय बिघा क्षेत्रफलमा केराखेती भइरहेकामा अधिकांश केरालाई हुरीबतासले नोक्सान गरेको उनले सुनाए । करिब एक करोड बराबरको केराखेती ढलेर नोक्सान भएको मेहताले बताए । रासस
एकातिर फल्न लागेको केरामा क्षति अर्कातिर ढलेका बोट हटाएर नयाँ केरा लगाउन जमिन तयार गर्न नै अब प्रतिबिघा लाखौँ खर्च गर्नुपर्ने किसानको भनाइ छ । हुरीबतासले केराखेतीमा अहिलेसम्मकै ठूलो नोक्सानी भएको किसान श्यामकुमार यादवले दाबी गरे । सुनसरीमा वार्षिक रूपमा पाँच सय २० हेक्टर अर्थात् एक हजार बिघामा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे