२०८२ बैशाख ९, मंगलबार
स्थानीयका अनुसार विगतमा तालको धेरै क्षेत्रमा जलाशय देखिन्थ्यो । “तालमा विभिन्न प्रजातिका माछा, जीवजन्तु रहन्थे । विभिन्न प्रजातिका चरा पनि तालमा आउने गर्थे । तालका छेउछाउमा गाईभैँसी, बाख्रा पनि चर्ने गर्थे”, पाल्हीनन्दन गाउँपालिका–६ निवासी लौहर चमारले बताउनुभयो ।
चमारका अनुसार तालमा माछा मार्नका लागि स्थानीयले दक्षिणतर्फको नाला खनेपछि तालको पानी बगेर सुक्दै गयो । सुक्खा भएको तालको जमिनमा केही जमिन्दारले खेती गर्न थालेका छन् । “अहिले ताल सुकेर खेतको रूपमा परिणत भएको छ । ताल सुकेसँगै तालको स्वरूप फेरिएको छ । तालको नाम निसानै मेटिएको छ”, उहाँले भन्नुभयो ।
यहाँका केही स्थानीयले नन्दन तालको जग्गा अतिक्रमण गरेपछि अहिले तालको चर्चा परिचर्चा हराउँदै गएको पाल्हीनन्दन गाउँपालिका–६ का वडाध्यक्ष कृष्णचन्द्र यादवले बताउनुभयो ।
उहाँका अनुसार विगतमा ताल ठेक्का लाग्ने गर्थ्यो । “माछा मार्नका लागि नन्दन ताल ठेक्का हुन्थ्यो, त्यसपछि कात्तिक, मङ्सिर महिनादेखि माछा मार्ने काम सुरू हुन्थ्यो”, यादवले भन्नुभयो ।
अहिले केही हुनेखाने समुदायले नन्दन तालको जग्गा अतिक्रमण गरेर गरीबलाई अधिया भन्दै जोतभोग गर्न दिएका छन् । एक सय १६ बिघाभन्दा बढी जग्गा नन्दन तालको नाउँमा दर्ता रहेको पाल्हीनन्दन गाउँपालिकाका अमिन हरेन्द्र यादवले बताउनुभयो ।
यद्यपी ऐतिहासिक नन्दन ताल संरक्षण तथा प्रचारप्रसार गर्नुका साथै अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि घरबास बनाएर यहाँका स्थानीयलाई रोजगार दिने प्रयास थालिएको छ ।
तालको नक्सा बनाएर संरक्षणको अभियान अगाडि बढाएपछि नन्दन ताल अतिक्रमण गर्नेहरूले काममा अवरोध गर्ने प्रयास गरेको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो ।
परासी सदरमुकामदेखि सात किलोमिटर दक्षिण सनई गाउँको नजिकै रहेको प्राचीन नन्दन तालको संरक्षणका लागि स्थानीय जनप्रतिनिधि लागिपरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे