२०८२ बैशाख ९, मंगलबार
तीन बिघामा मेवाखेती गरेकमा महतोले अहिले ६० टन मेवा बिक्री गरिसकेका छन् । मेवा बिक्रीबाट करिब रु १८ लाख आम्दानी गरेको उनले बताए । मेवाको बिक्रीमा खासै समस्या नभएको उनको भनाइ छ ।
उत्पादन भएको मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ । वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो माग गरेअनुसार पठाउँदै आएको उनको भनाइ छ । केही मेवा काठमाडौँ पनि बिक्री गरेको महतोले बताए ।
गत वर्ष चैतमा नयाँ बिरुवा लगाएका महतोले असोजबाट बिक्री सुरु गरेका हुन् । असोजबाट फल पाक्न थालेको अहिलेसम्म लगातार बजारमा पठाउँदै आएका छन् । “मेवा बिक्रीका लागि बजारको खासै समस्या छैन, उत्पादन भएको मेवा बजारमा गएकै छ, अझ धरानबाट पनि मेवाका माग थियो, तर त्यता पठाइनँ वीरगन्जमै खपत भएको छ”, उनले भने ।
मेवा प्रतिकेजी रु ३० देखि ४० सम्ममा बिक्री हुने गरेको किसान महतोले बताए। मेवाखेतीमा करिब रु १३ लाख खर्च भएको र यो याममा हालसम्म करिब रु पाँच लाख फाइदा लिइसकेको उनले बताए। अझै फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उनले बताए। उक्त समयसम्म करिब रु २०–२१ लाखको मेवा बिक्री हुने उनको अनुमान छ । यसले आम्दानी पनि बढाउने उनले बताए ।
मेवाखेतीबाट उनले आम्दानीमात्र लिनुभएको छैन, स्थानीय २२ जनालाई कामका आधारमा ज्याला प्रदान गर्नेगरी रोजगारी दिएका छन् । मेवाको लगाएदेखि विभिन्न समयमा यसको गोडमेल गर्ने, मेवा टिप्ने, प्याकेजिङको काम गर्ने कामदारले मात्र करिब रु ९ लाख ज्यालाबापत बुझेको उहाँको भनाइ छ । कामदारसहित मुख्यगरी कम्पोस्ट मल र बीउमा खर्च हुने उनको भनाइ छ । सुरुमा लगानी गर्दा छ महिनासम्म आम्दानी नहुने हुँदा केही समस्या भए पनि त्यसपछि क्रमशः आम्दानी दिन थाल्ने हुँदा मेवाखेती त्यति गाह्रो पेसा नभएको उनको भनाइ छ ।
अहिले लगाएका बिरुवा असारसम्म फल टिपेपछि उक्त जग्गामा तरकारीखेती लगाउने महतोको भनाइ छ । हालका बिरुवाले अर्को याममा समेत फल दिने भए पनि सानो फल्ने भएकाले अर्को वर्ष पुनः नयाँ बोट लगाउनुपर्ने उनी बताउछन्। उनले रेडलेडी प्रजातिको मेवाखेती गरेका छन् ।
मेवाखेतीका लागि कावासोती नगरपालिकाले रु तीन लाखसम्मको अनुदान उपलब्ध गराएको महतोले बताए । मेवाखेती गर्नुअघि उनले उक्त जग्गामा खरबुजाखेती गरेका थिए । खरबुजाबाट समेत राम्रो आम्दानी भएको महतोले बताए ।रासस
कावासोती नगरपालिका–१७ का वडा सदस्यसमेत रहेका महतो यस क्षेत्रको कृषि पेसामा अरूका लागि अनुकरणीय बनेका छन् । रोजगारीका लागि सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले स्वदेशमा समेत मेहनत गरे राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरे । “मलाई काम गर्न अप्ठ्यारो लाग्दैन, विदेशमा पनि लामो समय बसे, अहिले यहाँ कृषिमा रमाएको, आम्दानी ठिकै छ, मेहनत गरे सम्भावना नेपालमा पनि छ, सहजै त हुँदैन केही त गर्नैपर्यो”, उनले भने ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे