२०८२ बैशाख १५, सोमबार
राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराले “कृत्रिम गर्भाधान कर्ता” को रुपमा गैंडाकोट नगरपालिकाको पशु शाखामा कार्यरत एकजना कर्मचारीसहित गैंडाकोटबाट दुई जनालाई नगद पुरस्कार, कदरपत्र र दोसल्ला सहित सम्मान गर्न लागेको हो।
आ.व. २०८१।८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेश, मधेश प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशबाट एक एक जनाका दरले सातजना र एकजना उत्कृष्ट कृत्रिम गर्भाधान कर्ता सहित आठजनालाई सम्मान गर्न लागेको राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका प्रमुख पशु बिकास अधिकृत डा.जगदिश पाण्डेयले जानकारी दिनुभयो।
गण्डकी प्रदेशबाट छनोट भएका २ जनामा एकजना गैंडाकोट नगरपालिकामा कार्यरत कर्मचारी हुन भने एकजना गैंडाकोट १० नं निवासी प्राईभेट एग्रोभेटका संचालक रहेका छन्।
गैंडाकोट वडा नं १० मा प्राईभेट पाराभेट संचालक सुवास सापकोटा देशैभरिबाट “उत्कृष्ट कृत्रिम गर्भाधान कर्ता” को रुपमा छनोट हुन सफल हुनुभएको छ।
त्यस्तै गण्डकी प्रदेशबाट गैंडाकोट नगरपालिकाको बिशेष गरि १० देखि १८ वडा तथा केस अनुसार सम्पूर्ण वडा हेर्ने पशु स्वास्थ्य प्राविधिक पदमा कार्यरत सूर्य सुवेदी प्रथम हुन सफल भएका छन्। उत्कृष्ट कृत्रिम गर्भाधान कर्ताको रुपमा छनोट हुन सफल सापकोटाले ४५६० कृत्रिम गर्भाधान गर्नुभएको छ भने सुवेदीले ४००८ कृत्रिम गर्भाधान गराउनुभएको हो। यो तथ्याङ्क २०८० को मंसिर महिनादेखि २०८१ को मंसिर महिनासम्मको तथ्याङ्कलाई आधार मानेर छनोट गरिएको केन्द्रले जानकारी दिएको छ। उनीहरूलाई गण्डकी प्रदेशबाट सिफारिश भई राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराद्धारा छनोट गरिएको थियो।
गण्डकी प्रदेश तथा समग्र सातवटै प्रदेशबाट गैंडाकोट नगरपालिकामा कार्यरत एकजना कर्मचारी सहित दुईजना पुरस्कृत हुनुभएको छ यसले हामीलाई थप हौसला प्रदान गरेको छ। पुरस्कारले आगामी दिनमा पशुस्वास्थ्यको क्षेत्रमा थप उत्साहका साथ काम गर्न उहाँहरुलाई उत्प्रेरणा मिलेको छ भने उहाँहरुलाई पालिकाले सदैव साथ र सहयोग गर्ने गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो। नगरपालिकाले गैंडाकोटको भेडाबारी मुकुन्दपुर तथा अमरापुरीलाई पशु पकेट क्षेत्रको रुपमा अगाडि बढाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे