२०८१ मंसिर ९, आईतबार
एचआइभी र एड्ससम्बन्धी रोगको उपचार तथा हेरचाह सम्बन्धी सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै यो दिवस प्रत्येक बर्ष डिसेम्बर १ मा मनाईँदै आएको छ। यस बर्ष ३६ औँ विश्व एड्स दिवस मनाईँदैछ। यस बर्षको नारा “समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ” रहेको छ।
दिवसका अवसरमा नवलपुर जिल्लामा समेत बिभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले नवलपुर अनलाइनलाई बताउनुभयो।
नवलपुरमा गत बर्ष ५ जना संक्रमितको मृत्यु भएको छ। ती पाँचैजना मृतकहरू औषधी सेवन गरिरहेका रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका फोकल पर्सन डिल्लीराम तिवारीले बताउनुभयो।
जिल्लामा हालसम्म १२० जना एचआईभी संक्रमित रहेका छन्। जसमध्ये ६५ पुरूष र ५५ महिला रहेका छन्। ५ देखि १४ बर्षसम्मका २ बालबालिका समेत यसको सिकार भएका छन्। संक्रमितहरूमध्ये ५१ पुरूष र ४८ महिला सहित ९९ जना निरन्तर औषधी खाईरहेका छन्। ५ पुरूष र ४ महिला सहित ९ जना नवलपुरबाट आफ्नै जिल्ला गैसकेका छन् र हाल सम्पर्कमा छैनन् भने ५ जना पुरूषहरू औषधी सेवन गर्न छाडेका छन्। गत आवमा मात्रै १३ जना नयाँ संक्रमित थपिएको तिवारीले बताउनुभयो।
एचआईभी सर्ने मुख्यत: तीनवटा कारणहरू छन्। जसमा असुरक्षित यौन सम्पर्क, रगत र रगतजन्य पदार्थको सम्पर्क तथा संक्रमित आमाबाट बच्चामा रहेका छन्। एचआईभीको उपचार नगरिएको खण्डमा यसबाट संक्रमित भएपछि एड्सको अवस्थासम्म पुग्न कसैलाई केही महिना लाग्छ भने कसैलाई १० देखि १५ बर्ष सम्ममा पनि देखापर्दछ।
एड्स प्राणघातक रोग भएपनि समयमै पहिचान भै उपचार पाएको खण्डमा संक्रमितहरूले यस रोगबाट मुक्ति पाउनेछन्। सन् २०३० सम्ममा नेपालमा एड्स इपिडेमिकलाई अन्त्य गर्ने परिकल्पना गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे