२०८१ मंसिर १८, मंगलबार
विभागले गरेको अध्ययनका क्रममा हुप्सेकोटको धौवादीको १० किलोमिटर क्षेत्रमा फलामको ठूलो खानी पत्ता लागेसँगै मन्त्रिपरिषद्को विसं २०७६ भदौ ४ गतेको निर्णयबाट ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरी अध्ययनको कार्यलाई अगाडि बढाइएको हो । उक्त कम्पनी विसं २०७६ असोज ९ गते कम्पनी रजिष्टार कार्यालयमा ‘धौवादी फलाम कम्पनी लिमिटेड’को नाममा दर्ता भएर २०७६ फागुनदेखि सञ्चालित छ।
कम्पनीले हाल फलामको गुणस्तर र भण्डारण क्षमताको अध्ययन गर्नुका साथै फलाम रहेको क्षेत्रमा भौगर्भिक अध्ययन, ड्रिलिङ कार्य, रसायनिक परीक्षण र फलामको धाउ कित्ताकाट तथा नक्शाङ्कन सम्पन्न गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा जनकबहादुर चन्दले जानकारी दिए । “सीमित स्रोतसाधन र जनशक्तिबाट सञ्चालित धौवादी कम्पनीले भौगर्भिक अध्ययन, ड्रिलिङ, रासायनिक परीक्षण गर्नुका साथै आर्थिक र व्यावसायिक सम्भाव्यता अध्ययनसमेत गरिरहेको छ”, उनले भने ।
कम्पनीले उद्योगको लागि पूर्वी नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको लोकाहा क्षेत्रमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइसकिएको चन्दले बताए । कूल ४१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा सरकारले यसअघि चीनको सिचुआन इन्स्टिच्यूट अफ मेटालोजिकल जियोलोजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाइसकेको उनले जानकारी दिए । चिनियाँ प्रयोगशालाले उक्त खानीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको जानकारी गराएको थियो ।
कम्पनीले यहाँको प्रस्तावित औद्योगिक क्षेत्र र प्रशोधन क्षेत्रकोसमेत अध्ययन गरिएको छ भने खानी पहुँच सडक मार्ग निर्माण र विद्युत्को कामलाई समेत अगाडि बढाइसकेको छ । कम्पनीले नेपालमै पहिलो पटक धातुजन्य पदार्थको लागि सात स्थानमा एक हजार एक सय ६४ मिटर गहिराइसम्म ड्रिलिङ कार्य गरी फलामको भण्डारको प्रमाणीकरण सम्पन्न गरेको डा चन्दले बताए । उनका अनुसार कम्पनीले व्यावसायिक रुपमा आर्थिक दृष्टिकोणले सम्भाव्य छ की छैन भन्ने बारेमा अध्ययन गरिरहेको छ ।
उत्खनन्का लागि लाग्ने खर्चसम्बन्धी अध्ययन भइसकेको भन्दै चन्दले कम्पनीले गरेको अध्ययनको प्रतिवेदन अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार अहिले फलाम छिमेकीमूलुक भारतबाट आयात भइरहेको छ । धौवादी क्षेत्रमा फलाम उत्पादन भए २० देखि २५ प्रतिशत व्यापार घाटा प्रतिस्थापन गर्न सकिने कम्पनीले जनाएको छ । उक्त क्षेत्रमा नौ करोड ९० लाख टन फलाम भए पनि नौ करोड ६० लाख टनमात्र उत्खनन् गर्न सकिने डा चन्दको भनाइ थियो ।
कम्पनीका अध्यक्ष एवम् खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले खानी विभागले विसं २०६८ देखि नै फलाम खानीको अध्ययन गर्दै आएको बताए । “नेपालमा रहेको फलाम खानीबाट फलाम उत्पादन गरी बिक्रीवितरण गर्न सके मुलुकको अर्थतन्त्रमा समेत टेवा पुग्थ्यो”, उनले भने ।
महानिर्देशक घिमिरेले खानी तथा भूगर्भ विभागले देशभरका साना तथा ठूला खानीको अध्ययन अनुसन्धान गर्दै आएको बताए । उनका अनुसार विभागले हाल पूर्वी रुकुमको झुलावाङमा फलाम उत्खनन्को काम गर्दै आएको छ ।
कम्पनीले धौवादी फलाम कम्पनीबाट अनुसन्धान गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन सकारात्मक आउने घिमिरेको भनाइ थियो । उनका अनुसार धौवादी फलाम कम्पनी सञ्चालनमा आएमा वार्षिक दुई हजार व्यक्तिले प्रत्यक्षे रोजगारी पाउनेछन् । सो कम्पनीबाट वार्षिक दुई खर्ब बराबरको फलाम उत्पादन हुने हुँदा व्यापार घाटामासमेत कमी आउने अपेक्षा गरिएको छ ।
कम्पनी सञ्चालनमा आउँदा व्यापारघाटामा कमी, रोजगारी सिर्जना, फलामजन्य कच्चा पदार्थको आयतमा कमी, पूर्वाधार औद्योगिक विकासमा टेवा पुग्ने विश्वास सरकारले लिएको छ । त्यस्तै, निर्माणमुखी सामग्रीको अभावलाई उच्च गुणस्तरको गिट्टीले परिपूर्ति गर्ने, विभिन्न देशमा परीक्षणमा रहेको ‘ग्रिन इनर्जी हाइड्रो’ बाट कोइलाजस्ता बढी कार्बन उत्सर्जन गर्ने तेलजन्य पदार्थलाई भविष्यमा विस्थापित गर्नसक्ने लक्ष्य लिइएको छ ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे