२०८१ मंसिर ८, शनिबार
प्रधानमन्त्री प्रचण्डले बुधवार गर्नुभएको मन्त्रिपरिषद् गठनमा उनी पुनः सञ्चारमन्त्रीमा नियुक्त भएकी हुन् । उनले २०७२ कात्तिक १ गतेदेखि २०७३ असार २८ गतेसम्म सामान्य प्रशासन मन्त्रीका रूपमा भूमिका निर्वाह गरेकी थिइन् । २०७९ मङ्सिर ४ गतेको निर्वाचनबाट शर्मा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै निर्वाचित भएकी थिइन् । उनी समानुपातिक प्रणालीबाट २०७० मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
विसं २०२६ असोज ९ गते दाङको घोराही उपमहानगरपालिका वडा नं १८ मसिनामा बुबा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मिएकी शर्माले विसं २०४२ सालदेखि विद्यार्थी सङ्गठनबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् ।
अखिलको इकाई समितिबाट राजनीति सुरु गरेकी शर्माले विसं २०४७ मा अखिलको जिल्ला उपाध्यक्ष, विसं २०४८ सालमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को दाङ अध्यक्ष, विसं २०५० मा महिला सङ्गठनको केन्द्रीय सदस्य, विसं २०५१ मा वाइसिएल केन्द्रीय सदस्य, विसं २०५३ सालदेखि विसं २०५८ सालसम्म अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।
विसं २०५७ मा नेकपा (माओवादी) को केन्द्रीय सदस्य बनेकी नेत्री शर्मा काठमाडौँ उपत्यका उपब्युरोको इन्चार्जको भूमिकामा रहेको बेलामा २०५८ चैतमा पार्टी केन्द्रीय सदस्य तथा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परेकी थिइन् ।
तत्कालीन शाही नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा लामो कष्टकर यातनापछि सरकार र माओवादीबिच वार्ता सुरु भएपछि २०५९ साल चैत ३१ गते दुवै जना जेलमुक्त भएका थिए । लामो जेल जीवनपछि पुनः राजनीतिमा सक्रिय शर्मा हाल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति सदस्यको भूमिकामा रहेकी छन् ।
विसं २०७० देखि २०७२ सम्म संविधान निर्माणमा महत्त्वपूर्ण योगदान गरेकी शर्माले २०७४ मा संसदीय दलको सचेतकको जिम्मेवारी निर्वाह गरेकी थिइन् । मन्त्री शर्माले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित हुने शर्मा एक्लै महिला हुन् । आफूलाई सामाजिक न्याय र समानताको पक्षधरका रूपमा परिचित गराउन चाहने मन्त्री शर्मा कृषि र अर्थतन्त्रको विषयमा पनि रुचि राख्छिन् । पार्टीको विद्यार्थी, युवा र महिला सङ्गठनमा लामो समय बिताएकी शर्माले संविधानसभा पदक प्राप्त गरेकी छन् । रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे