२०८१ चैत्र २३, शनिबार
चितवनको कालिका नगरपालिका-१० पाइमाराङमा किसान रामबहादुर थापाले चराउन राखेका मौरीका घार । चिउरी फुल्ने यो सिजनमा किसानले यस क्षेत्रमा मौरीलाई चराउन लैजाने गरेका छन । तस्बिरः कृष्ण आचार्य / रासस
भरतपुर महानगरपालिका–११ का दामोदर देवकोटा विगत १२ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । उहाँ मौरी जोनमा जोडिएपछि थप उत्साह मिलेकोे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिला एक सय घार मौरी थिए । अहिले यो बढाएर एक सय ३५ घार पु¥याएको छु ।” मौरी जोनमा जोडिएका कृषकलाई हरेक वर्ष कुनै न कुनै कार्यक्रम जोड्ने हुँदा आफूहरुमा उत्साह थपिएको देवकोटाले बताउनुभयो ।
स्थानीयस्तरमा उत्पादित महको मूल्य र भारतबाट आयातित महको मूल्यमा अन्तर रहेकाले बजारीकरणमा केही समस्या देखिए पनि प्राविधिक विषयमा जोन कार्यक्रमको सहयोगले सहज भएको उहाँको भनाइ छ । बजारमा यहाँको उत्पादन उधारोमा पठाउनुपर्ने बाध्यता रहेको देवकोटाले बताउनुभयो ।
जोन कार्यक्रममा जिल्लाका एक सय २७ जना कृषक सहभागी छन् । जिल्लामा आर्थिक वर्ष २०७५/७६ वटा मौरी जोनको कार्यक्रम सुरु भएको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाका किसान यो कार्यक्रममा जोडिएको बताउनुभयो ।
ढुङ्गानाका अनुसार जोन कार्यक्रमको सुरुआती समयमा जिल्लामा छ हजार तीन सय ५० मौरीका घार रहेकामा अहिले यो सङ्ख्या बढेर ११ हजार नौ सय पुगेको छ । जिल्लाबाट वार्षिक चार सय ४७ मेट्रिकटन मह बाहिर पठाउने गरिएको उहाँले बताउनुभयो । महको राष्ट्रिय प्रतिघार उत्पादन १६ दशमलव २६ किलो भए पनि जिल्लामा भने उत्पादन बढी हुने गरेको ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा प्रतिघार २५ दशमलव ६ किलो मह उत्पादन हुँदै आएको छ ।
उहाँले भन्नुभयो, “जोन कार्यक्रममा जोडिएका किसानलाई हामीले सहयोग गर्दै आएका छौँ । उहाँहरुमा उत्साह बढेको छ ।” यहाँ उत्पादित महको मुख्य बजार चितवनसहित बुटवल, काठमाडौँ र पोखरालगायत सहर रहेका छन् । यहाँ मेरीफेरा र सेरेना जातको मौरी पालन भइरहेको छ । जोनबाट वार्षिक तीन सय चार दशमलव ६४ मेट्रिकटन मह उत्पादन हुँदै आएको ढुङ्गानाले जानकारी दिनुभयो ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे