२०८१ चैत्र ४, सोमबार
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ ।
मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई बिशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।
नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे