२०८१ कार्तिक १६, शुक्रबार
दिवंगत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट धार्मिक तीर्थालु कागबेनी आउने गरेका पुजारी हिमाल सुवेदीले बताए। उनका अनुसार, दैनिक दुई सयभन्दा बढीले दिवङ्गत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने गरेका छन्।
मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको सङ्गम रहेको कागबेनी पितृतर्पणका लागि महत्त्वपूर्ण तीर्थस्थलका रुपमा मानिन्छ । कागबेनीमा बडादसैँ र चैते दसैंको औंशीमा हजारौंको संख्यामा पितृतर्पण गर्नेहरूको घुइँचो लाग्ने गरेको पुजारी सुवेदीले जानकारी दिए। यस वर्ष बाढी पहिराका कारण सोह्रश्राद्धको समयमा उल्लेख्यमात्रामा तीर्थयात्री आउन सकेका थिएनन्।
‘बाढी, पहिरोले सडकमार्ग अस्तव्यस्त बनाएपछि सोह्र श्राद्धमा ठूलो संख्यामा भक्तजन आउन सकेका थिएनन्, दसैंपछि मौसममा सुधार भएपछि कागबेनीमा तर्पण दिन दिनहुँ भीड लाग्ने गरेको छ,’ पुजारी सुवेदीले भने। दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएको गण्डकीको सङ्गम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठूलो फल मिल्ने कुरा शास्त्रहरूमा उल्लेख छ।
परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ।
कागबेनीमा भगवानको दैवीशक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध, पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटबाट पितृ तर्पण गर्न पुगेका शालिकराम रिजालले बताए।
विश्वमा शालिग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीबाट संकलन भएका शालिग्राम शिलालाई भगवानका रूपमा भक्तजनले लैजाने गरेका छन्। भक्तजनको आगमन बढेसँगै शालीग्राम शिलासँगै पूजा सामग्रीको बिक्री बढेको स्थानीय देवबहादुर थापाले बताए। उनका अनुसार, शालीग्राम शिलालाई भक्तजनहरुले विष्णु भगवानको अवतारका रूपमा मुस्ताङको चिनोका रुपमा लैजाने गर्छन्।
कागबेनी धाममा श्राद्ध गर्न आउने तीर्थालुहरू यहाँ पितृ उद्धारका कर्म पूरा गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन्। भक्तजनको संख्या बढेसँगै कागबेनी क्षेत्रका होटल भरिभराउ भएका छन भने व्यापार व्यवसायसमेत चलायमान भएको छ। दसैं तिहारको बिदाको समयमा मुस्ताङमा दैनिक करिब पाँच हजार पर्यटक भित्रने गरेका छन्। बेनी–जोमसोम सडक मार्ग र अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये अधिकांश कागबेनी र मुक्तिनाथमा पुग्ने गरेका छन्।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे