२०८१ माघ २, बुधबार
१० तलाको टावर निर्माण भए पनि सञ्चालन प्रक्रियाबारे अलमल हुँदा सर्वसाधारणले चढ्न पाएका छैनन् । ११ करोड ५० लाख रुपियाँ लगानीमा बनेको बहुउद्देश्यीय टावर सञ्चालनमा ढिलाइ हुँदा यसले अहिलेसम्म आम्दानी दिन सकेको छैन । भ्युटावर अहिलेसम्म सञ्चालन नहुँदा तिलोत्तमा नगरपालिका र शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) ले कुनै पनि लाभ लिन नसकेको शङ्करनगर वनवाटिकाका उपाध्यक्ष खिमलाल पाण्डेयले बताउनुभयो ।
“योजना त ठुलो हो, काम अलपत्र भयो, टावर बने पनि सञ्चालनमा आएको छैन,” उहाँले भन्नुभयो । पाण्डेयले भ्युटावर सञ्चालन भएमा स्वाभाविक रूपमा वनवाटिकाको आम्दानी बढ्ने बताउनुभयो । बहुउद्देश्यीय उक्त भ्युटावर सञ्चालन हुँदा ६० जनाभन्दा धेरैले रोजगारी पाउने र वनवाटिकाले पनि आफ्नो आम्दानी बढाउन सक्ने उहाँको भनाइ छ ।
टावर निर्माण भए पनि तलका संरचना निर्माण हुन बाँकी रहेका कारण सर्वसाधारणका लागि खुला नगरिएको उहाँको भनाइ छ । तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणका अनुसार यो भ्युटावर निर्माण गर्दा नगरपालिकाको ७० प्रतिशत र वनवाटिकाको ३० प्रतिशत लगानी भएको हो । दोस्रो चरणको केही कामका लागि सङ्घीय सरकारको बजेटबाट खर्च गरिएको छ । यसको आम्दानी भने नगरपालिकाले ६० प्रतिशत र वनवाटिकाले ४० प्रतिशत लिने यसअघि नै सहमतिसमेत भएको हो ।
नगरपालिकाका प्रमुख रामकृष्ण खाणले ठेकेदारसँग भएको सम्झौता अनुसार भ्युटावरको तल केही संरचना बनाउन बाँकी रहेको बताउनुभयो । नगरपालिकाबाट एक करोड र सङ्घीय सरकारबाट आएको बजेटबाट पार्किङ र गार्डेनलगायतका निर्माण कार्य भइरहेको उहाँको भनाइ छ ।
शङ्करनगर वनवाटिकाभित्र दैनिक सरदर एक हजार पाँच सय आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । यहाँ रहेका सेडमा वनभोज खाने, नाचगान गर्ने, अवलोकन गर्नेको दैनिक भिड लाग्ने गरेको छ । सँगै रहेका पार्क, चिडियाखाना यहाँका थप आकर्षक क्षेत्र हुन् ।
टावरमा पहिलोदेखि छैटौँ तलासम्म व्यावसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् । सातौँ तलादेखि मात्रै दृश्यावलोकनका लागि प्रयोग हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बतनाउनुभयो । कुल २५ हजार १२२ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको भ्युटावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च कक्ष, डिपार्टमेन्ट स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठा तथा पुस्तकालयलगायतका संरचना रहने योजनामा राखिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे