२०८२ बैशाख ६, शनिबार
काठमाडौं । भारतको हैदरावाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले आज (शनिबार) भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने भएको छ ।
करिब डेढ वर्षअघि भारतबाट झन्डै १ अर्ब खर्चिएर ल्याइएको रेल सञ्चालनका लागि आज समय जुरेको हो ।
अघिल्लो सरकारले नै रेल सञ्चालनका लागि विभिन्न समयमा मिति तय गर्दै आए पनि कानुनदेखि जनशक्ति र भौतिक पूर्वाधारको अभावमा सञ्चालनमा आउन सकेको थिएन ।
प्रधानमन्त्री देउवा तीनदिने भारत भ्रमणमा रहेको मौकामा आज उनी समकक्षी मोदीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्न लागेका हुन् । रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले रेल उदघाटनका लागि सबै तयारी पूरा भएको बताएका छन् ।
रेलको उद्घाटनसँगै सञ्चालनमा आउने उनले बताएका छन् । आज हैदरावाद हाउसबाट भर्चुअल माध्यमबाट हुने उद्घाटन जनकपुरमा ठूलो स्क्रिन जडान गरेर हेरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले शुक्रबार जनकपुरधाम रेल्वे स्टेसनको अनुगमन गरेकी छन् ।
नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको छ । दैनिक दुईपटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुने महाप्रबन्धक झाले बताएका छन् । रेलको उद्घाटनपछि जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा १ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । इनरुवासम्मका लागि भने सामान्य कोचमा ६० रुपैयाँ र एसी कोचमा ३ सय रुपैयाँ तथा जयनगरका लागि सामान्य कोचमा ७० रुपैयाँ र एसी कोचमा ३ सय ५० रुपैयाँ भाडा दर तोकिएको जनाइएको छ । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे