२०८१ माघ २९, मंगलबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेषगरी बृहत् महिला स्वास्थ्य शिविर सञ्चालनमा सेवाप्रदायक संस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति अवलम्बन गर्न थालेको छ ।
परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहाल पौडेलले परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर बढाउन परिवार व्यवस्थापनका सेवालाई अझ सुदृढ बनाउन आवश्यक भएको बताइन् । उनले भनिन्, “विशेषगरी बन्ध्याकरण शिविर सञ्चालनमा सेवाप्रदायक सस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक बनाउन जरुरी छ । हामीले स्वास्थ्य सङ्घीयतामा समन्वयात्मक ढाँचा अवलम्बन गरेका छौँ ।”
एमएसआइले सन् २०२४ मा सम्बन्धित पालिकासँगका सहकार्यमा रौतहट, धनुषा, बारा, पर्सा, सर्लाही, सप्तरी, महोत्तरी, सिराहा, बर्दिया, नवलपरासी (पश्चिम), मोरङ, कपिलवस्तु, रोल्पा, कैलाली, दाङ, बैतडी, डडेलधुरा, बागलुङ, गोरखा, लमजुङ, प्युठान, कैलाली, धादिङ, सुनसरी र सिन्धुलीलगायत जिल्लामा परिवार व्यवस्थापनअन्तर्गत बन्ध्याकरण शिविर संयोजन गरेको थियो । शिविरमा महिला बन्ध्याकरण (नौ हजार आठ सय ५५) पुरुष बन्ध्याकरण (तीन सय ८७), परिवार नियोजनका इम्पाल्ट (एक सय ५१) र कपरटी (४६) जनाले सेवा लिएका थिए । महिला बन्ध्याकरण अत्यन्त रुचाइएको छभने पुरुष बन्ध्याकरण न्यून रुचाइएको पाइन्छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका कुल ३५ प्रतिशत किशोरीको १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको छ । यसैगरी विवाहको कानुनी उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्षको उमेरमा र ७६ प्रतिशतको २० वर्षको उमेरमा विवाह भएको भएको पाइन्छ । नेपालमा १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा वा गर्भवती भइसकेका हुन्छन् ।
पछिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (२०२२)का अनुसार परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर ५३ प्रतिशत छ । आधुनिक परिवार नियोजन सेवाको प्रयोगदर ४२.८, अझै प्रजनन उमेरका २३.७ महिलाले परिवार नियोजनको सेवा उपलब्ध गर्न पाएका छैनन् । अर्कातर्फ नेपालमा जन्मदर घट्नु र असुरक्षित गर्भपतन बढ्नु चिन्ताको विषय मानिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे