२०८१ चैत्र ४, सोमबार
राजधानी काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रममा काठामाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार के.सी., वरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले संयुक्त रूपमा कविता तथा गजलसङ्ग्रह सार्वजनिक गरेका थिए ।
‘ साहित्य शैली ’ कविता तथा गजलसङ्ग्रहमा २५ वटा कविता र ३१ वटा गजल गरी ५६ वटा रचना समावेश गरिएका छन् । देवकी घिमिरे दाहाल प्रकाशक रहेको साहित्य शैलीको मूल्य १ सय ५० रुपैयाँ रहेको छ । उक्त कार्यक्रममा सांसद राजेन्द्र कुमार के.सी. ले कवि तथा गजलकार सुदिम्न दाहालले साहित्यमार्फत समाजमा जागरण ल्याउन गरेको प्रयत्न प्रशंसनीय भएको बताए ।
‘सुदिम्नको परिवारसँग आफू चिरपरिचित रहेको र लोकतान्त्रिक आन्दोलनमा उहाँ र उहाँका परिवारले निरन्तर सहभागिता जनाउने गरेको बताउँदै सांसद के.सी. ले भने,‘साहित्यमार्फत लोकतान्त्रिक मूल्यमान्यतालाई अझ परिस्कृत गर्न मद्दत पुग्ने बताए ।’ कीर्तिपुर क्षेत्रमा रहेर साहित्य सिर्जना गर्ने सर्जकहरूलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता सांसद के.सी. ले व्यक्त गरे ।
यस्तै, उक्त कार्यक्रममा वरिष्ठ सहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बरालले कवि तथा गजलकार सुदिम्नले समाजमा व्याप्त विकृतिका बारेमा कविता तथा गजलमा चिन्ता व्यक्त गर्दै अध्यात्मवादी र मानवतावादी रचनाहरू सिर्जना गरेको बताए ।‘मायाप्रेमका विषयवस्तुदेखि लिएर राजनीतिक गैरजिम्मेवारीपनसम्मका चिन्तन सुदिम्नका रचनामा पढ्न पाइने उल्लेख गर्दै प्रा.डा. बरालले भने,‘देशमा व्याप्त असमनताप्रति उनले आक्रोश प्रकट गरेका छन् ।
सुदिम्नका गजलहरूमा आक्षरिक लयको प्रयोग भएको पाइन्छ भने कविताहरूमा गद्यलयको प्रयोग पाइन्छ ।’ प्रा.डा. बरालले भने,‘उनले आफ्ना रचनाहरूमा प्रयोग गरेको भाषा भने सरल छ । सरलताभित्र नै सहज ढङ्गले गहन विषयवस्तु प्रस्तुत गर्नु नै उनको विशेषता बनेको छ ।’
त्यसैगरी, कार्यक्रममा एपीएफ स्कुल कीर्तिपुरका शिक्षक आचार्य केदारप्रसाद भण्डारीले यस सङ्ग्रहमा सङ्ग्रहीत गजलहरूमा संरचनात्मक परिपक्वता रहेको र गजलका आधरभूत मान्यताहरूलाई इमान्दार भएर परिपालन गरिएको बताए । नेपाली गजल साहित्यको आसलाग्दा गजलकारका रूपमा सुदिम्न स्थापित हुन सक्ने प्रतिभा रहेको भण्डारीले बताए ।
त्यस्तै, उक्त कार्यक्रममा उप – प्राध्यापक दिपक ढकालले जीव विज्ञानका विद्यार्थी सुदिम्नको साहित्यप्रतिको रुची लोभलाग्दो भएको बताए । ढकालले मानवीय संवेदनलाई साहित्यमार्फत व्यक्त गर्नु आफैँमा प्रसंशनीय कार्य भएको बताए । यसैगरी, कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले कवि तथा गजलकार सुदिम्न प्रतिभाशाली साहित्यकारका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
यस्तै, उक्त कार्यक्रममा कवि तथा गजलकार सुदिम्न दाहालले गजलकारहरूको सामीप्यले गजल लेखनतिर झुकेको कलम अझै सशक्त हुन प्रयासरत रहेको बताए ।
मुलतः सामाजिक, राजनीतिक विषयवस्तु र मायाप्रेम अनि अध्यात्मवादी साथै मानवतावादी चिन्तन नै आफ्नो रुची भएको दाहालले बताए । समाजलाई जस्ताको तस्तै साहित्यमा उतार्नुपर्छ भन्ने चेतबाट आफ्ना रचनाहरू प्रेरित रहेको बताउँदै दाहालले भने,‘भुइँ मान्छेको आवाज कलमले बोल्नु पर्छ र मेरो कलमले सधैँ बोल्ने छ ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे