२०८१ चैत्र ५, मंगलबार
इजरायली आक्रमणमा परी गाजाका उपगृहमन्त्री तथा हमासका उच्च सुरक्षा अधिकारी महमूद अबु वाफाह समेत मारिएको बिबिसीले जनाएको छ ।
इजरायल डिफेन्स फोर्सेस (आडिएफ) ले हमासका “आतंकवादी लक्षित संरचना”हरूलाई ध्वस्त पार्न आक्रमण गरिएको बताएको छ ।
यो १९ जनवरीमा युद्धविराम सुरु भएयता गाजामाथि भएको सबैभन्दा ठूलो हवाई आक्रमण हो । गाजा युद्धविरामलाई लम्ब्याउने वार्ता सहमतिमा पुग्न नसकेर असफल भएको छ ।
रामदानको पवित्र महिनामा मानिसहरू प्रातःकालीन भोजन गर्दै गर्दा गाजामा विस्फोटहरू सुरु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरूका अनुसार २० भन्दा बढी इजरायली युद्धक विमानहरूले गाजा सिटी, राफा र खान युनिसमा आक्रमण सुरु गरेको हो ।
इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहु र रक्षा मन्त्री इजरायल काट्जले मंगलबार बिहान आक्रमणको आदेश दिएको प्रधानमन्त्री कार्यालयको वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा भनिएको छ, “हमासले बन्धकहरूलाई मुक्त गर्न बारम्बार अस्वीकार गर्नुका साथै, अमेरिकी राष्ट्रपति दूत स्टीभ विटकोफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्ताव अस्वीकार गरेपछि गरिएको हो ।”
हमासले इजरायलले युद्धविराम सम्झौता उल्ट्याएकोमा आक्रोशित प्रतिक्रिया दिँदै यसलाई विश्वासघात भनेको छ । उसले गाजामा रहेका बाँकी इजरायली बन्धकहरूलाई जोखिममा पारेको आरोप लगाएको छ ।
तर हमासले अहिलेसम्म औपचारिक रूपमा युद्ध पुनः सुरु गर्ने घोषणा गरेको छैन, उसले मध्यस्थकर्ताहरू र संयुक्त राष्ट्रलाई हस्तक्षेप गर्न आह्वान गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे