२०८१ मंसिर १०, सोमबार
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म ८० जनालाई ‘मङ्कीपक्स भाइरस’ पुष्टि भइसकेको छ भने ५० जना शङ्कास्पद बिरामी छन् । युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार मङ्कीपक्स भाइरसको पहिलो बिरामी अफ्रिकी मुलुक नाइजेरियाबाट आएका थिए । विश्व स्वास्थ्य सङ्गठनले हालसम्म मङ्कीपक्स भाइरस ११ राष्ट्रमा फैलिइसकेको जानकारी दिएको छ ।
हाल देखापरेको भाइरसलाई सामान्य रूपमा लिन नहुने भन्दै सङ्गठनले उक्त भाइरस गैरस्थानीय देशमा देखिएकाले असामान्य रहेको बताएको छ । सङ्गठनले भाइरस प्रभावित देश तथा अन्य निकायसँग बैठक बसेर भाइरस कम गर्न काम गरिरहेको जनाएको छ । प्रभावित हुन सक्ने मानिसलाई खोज्न र रोग व्यवस्थापन गर्न सङ्गठनले सहयोग गरिरहेको छ । भाइरस नियन्त्रणका लागि सङ्गठनले विज्ञ र प्राविधिक सल्लाहकार समूहहरूको बैठक जारी राख्ने जनाएको छ ।
सरुवा रोग विशेषज्ञ तथा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुनले एसियामा सन् २०१९ मा सिङ्गापुरमा नाइजेरियाबाट आएका व्यक्तिलाई मङ्कीपक्स भाइरस देखिएको जानकारी दिनुभयो ।
मङ्कीपक्स भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरमा देखिएको थियो । यही कारणले यो भाइरसको नाम मङ्कीपक्स राखिएको थियो । मानिसमा भने सन् १९७० मा कङ्गोमा पुष्टि भएको थियो । डा. पुनका अनुसार अफ्रिकाभन्दा बाहिर व्यक्ति तथा जनावरबाट पुगेको हो ।
डा. पुनका अनुसार मङ्कीपक्स भाइरस सङ्क्रमण भएको पाँचदेखि २१ दिनभित्र लक्षण देखिन्छ । सुरुको अवस्थामा लक्षण अरू सङ्क्रामक रोगसँग मिल्दोजुल्दो देखिने भन्दै उहाँले ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, जाडो हुने, लिम्फ ग्रन्थी सुन्निनेजस्ता प्रारम्भिक लक्षण देखापर्ने बताउनुभयो ।
प्रारम्भिक लक्षण देखिएको एकदेखि तीन दिनमा अनुहार तथा शरीरमा पानीका फोकाजस्ता बिबिरा देखिने, फुट्ने, सुक्ने र झर्ने गर्छन् । बिबिरा अनुहार तथा हातखुट्टामा बढी देखिने र दुईदेखि चार हप्तामा आफैँ निको हुने गर्छ । वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले मङ्कीपक्स भाइरस नेपालमा पनि आउन सक्ने भन्दै सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।
उहाँले १० सङ्क्रमितमध्ये एकको जटिलताका कारणले मृत्यु हुने सम्भावना रहेको बताउँदै मङ्कीपक्स भाइरसले निमोनिया, अन्धोपनजस्ता जटिलता ल्याउन सक्ने बताउनुभयो । मङ्कीपक्स भाइरस मानिसमा सङ्क्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ वा रगतबाट सर्न सक्ने हुँदा त्यसबाट बच्न उहाँले आग्रह गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अफ्रिकी मुलुक, युरोप तथा अमेरिका र बेलायतमा समेत मङ्कीपक्स फैलिएको जानकारी दिँदै नेपालमा सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले मङ्कीपक्स भाइरस नेपालमा भित्रन नदिन हालसम्म खास तयारी भने नभएको बताउनुभयो । डा. पुनका अनुसार मङ्कीपक्सको विशेष औषधि छैन तर एन्टिभाइरल भ्याक्सिन प्रयोग गर्न सकिन्छ । यो समाचार गोरखापत्र अनलाइनका लागि सरोज ढुङ्गेलले लेखेका हुन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे