२०८२ बैशाख १०, बुधबार
आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउउछन् । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।
एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ ।
वैज्ञानिक रुपमा पनि बढी अक्सीजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।
चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।
कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडिबुटीले काम गर्ने जनाइएको छ । दुई वर्ष अघिदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे