२०८२ बैशाख ६, शनिबार
काठमाडौँमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार सुरु भएको घोषणा गरे ।
दुई बैंक गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी रु ३४ अर्ब १२ करोड, कुल सम्पत्ति रु चार खर्ब ७१ अर्ब र कूल पुँजी रु ५८ अर्ब पुगेको छ । त्यस्तै कूल निक्षेप रु तीन खर्ब ६० अर्ब र कूल कर्जा रु तीन खर्ब २९ अर्ब रहेको बैंकले जनाएको छ । मर्जरपछि यो बैंकको शाखा सञ्जाल दुई सय ९६, एक्सटेन्सन काउन्टर ५९, एटिएम दुई सय ७९ र ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी रहेको पनि बैंकले जनाएको छ ।
दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहने गरी मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् । नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकको प्रतिनिधित्व रहने छ । त्यसमा इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रजन्य राजभण्डारी र कविकुमार टिब्रेवाला तथा मेगा बैंकका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् ।
त्यसैगरी साविक नेपाल इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रुपमा रहेका मञ्जु बस्नेत अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालकका रुपमा रहनेछन् । एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बैंकका अध्यक्ष पाँडेले यो मर्जरले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई पनि मर्जरका लागि प्रेरित गरेको बताए ।
त्यसैगरी मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद एवं सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैंकका असल परम्परा, ग्राहकको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षलाई अङ्गिकार गर्नुका साथै शेयरधनीलाई प्रतिफलमा न्यायोचित वृद्धि गर्दै जाने उनको भनाइ छ ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले लिएको नीतिअनुसार पछिल्लो समय बैंक तथा वित्तीय एकापसमा गाभ्ने/गाभिने र प्राप्ति प्रक्रियामा गइरहेका छन् । चालु आर्थिक वर्षको पुसमा मात्र आठ वाणिज्य बैंक एकापसमा मर्जर तथा प्राप्ति प्रक्रियामा गएर चार कायम भएका छन् । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे