२०८१ मंसिर ८, शनिबार
अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गर्नुभएका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा. ह्यारी भण्डारीले शपथ ग्रहण गर्नुभएको छ । नेपालीमुलबाट अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुनुहुन्छ । मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारी हिन्दुहरूको पवित्र ग्रन्थ भागवत गीता छोएर शपथ लिनुभएको हो । शपथ ग्रहणपछि संक्षिप्त कुराकानीमा भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीको रूपमा मतदाताले मत दिएर विजयी गराउनु महत्त्वपूर्ण उपलब्धि भएको टिप्पणी गर्नुभयो । भण्डारीले अगाडि थप्नु भयो, “म मेरो जिम्मेवारी वहन गर्दागर्दै अमेरिकामा रहनुभएका नेपाली भाषी, यही भूमिमा जन्मिएका नेपाली अमेरिकनको सपनालाई समेत केन्द्रमा राखेर काम गर्नेछु । भण्डारीले आफ्नो कार्यकाल रहेको स्थानमा नेपालको झण्डा र सगरमाथाको फोटोसमेत राख्नु भएको छ । यस अगाडि आयोजित एक बधाई कार्यक्रममा डा भण्डारीले गीताको सार जस्तै कर्म गर्न आफू लागिरहने बताउनुभएको थियो । उहाँले अगाडि थप्नुभयो, “सार्वजनिक सेवामा काम गर्न मलाई गीताको सारले सदैव प्रेरित गर्ने बताउनुभएको छ ।” साथमा नेपाली समुदायका अगुवाहरूले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । मेरिल्याण्ड राज्यको तल्लो सदन जनरल एसेम्बलीमा डिष्ट्रिक आठ बाट १९ हजार सात सय दुई मत ल्याएर गत नोभेम्बर महिनाको ८ तारिखमा भएको निर्वाचनमा विजयी हुनुभएको हो । उहाँ उक्त क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर विजयी हुनुभएको हो । भण्डारीले अघिल्लो कार्यकालमा दर्जन विधेयक संसदबाट पारित गराउन सफल हुनुभएको थियो । स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा बसेर काम गर्नुभएका भण्डारीले महामारीको बेलामा कसरी जुँध्ने र नागरिकको जीवन रक्षार्थ कस्तो रणनीति अङ्गीकार गर्ने भन्ने अत्यन्तै संवेदनशील विषयमा अनुभव लिन पाएको बताउनुभएको छ । अमेरिकामा एक आप्रवासीको रूपमा नेपालबाट सन् २००५ मा अमेरिका आउनुभएका भण्डारीले डेढ दशक भन्दा बढी मेरिल्याण्डको विद्यालयमा अध्यापन गराउनुभएको अनुभव छ, भने मेरिल्याण्डमा रहेको युनिभर्सिटी अफ मेरिल्याण्डबाट विद्यावारिधिसमेत गर्नुभएको छ । नेपालको पर्वत जिल्लाको थापाथानामा बुबा अम्मरबहादुर भण्डारी र आमा कान्तिकुमारीको कोखबाट जन्मनुभएका भण्डारी आफ्नी पत्नी सङ्गीता भण्डारीसहित सपरिवार अमेरिकामा बस्दै आउनुभएको छ । रासस व्यावसायिक, राजनीतिक र अध्ययनमा भण्डारीको सफलता आप्रवासी नेपाली अमेरिकनको लागि मात्र नभई एसियाली अमेरिकनहरूको लागि पनि रोचक रहेको छ । आगामी चार वर्ष भण्डारीले मेरिल्याण्ड राज्यको विधायकको रूपमा काम गरेर आवश्यक पर्ने कानुनको तर्जुमा तथा बजेट निर्माणमा एक विधायकको हैसियतले काम गर्नुहुनेछ ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे